दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती


 


काठमाडौँ, १३ असोज

वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ ।

हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखौ नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प छन् । हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । विगत झै यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ । सबैजसो वायुसेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन् । यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन् ।

वायुसेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाई भाडा बढाउँदै आएका छन् । सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ । महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन् । उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नुपर्छ । अहिले पनि दशैँका लागि हवाईजहाजको टिकट पाउन कठिन भएको छ । पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नुपर्छ । अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ ।

यस्तै विराटनगरका लागि हवाई भाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ । यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । धनगढी र नेपालगञ्ज गन्तव्यमा जान ठिक्क परेका एक यात्रुले भने, “वायुसेवा कम्पनीलाई अहिले दशैँ लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किनेँ ।”

अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ । नेपाल वायुसेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरीद गरेको अर्का एक यात्रुले बताए । निगमले आफ्नो नियमित भाडादरमै गन्तव्यमा उडान भर्दै आएको छ । 

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले दशैँमा पनि निगमले नियमित भाडादरमै टिकट बिक्री गरिरहेको जानकारी दिए । यात्रुलाई मात्र हैन वायुसेवा कम्पनीलाई पनि कम्ती चुनौती छैन । भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र मागअनुसारको सेवा दिन दशैँका बेला हम्मेहम्मे पर्छ । एक वायुसेवा कम्पनीका सञ्चालकले भने, “हामीलाई दशैँमा सधैँ भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बझ्दैन् । सस्तो, महङ्गोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन ।”

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्