सी फर्किएपछि नेपालबारे चीनले सार्वजनिक गर्यो यस्तो धारणा


 


काठमाडौँ, असाेज २८

चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका राष्ट्रपति सि चिनफिङ आइतबार स्वदेश फर्केपछि चीनको यस्तो धारणा आएको हो।

सीको भ्रमणलाई लिएर चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सिन्हवासँग कुरा गर्दै नेपाल र चीन दुवै मुलुकले एक अर्कोलाई सहयोग र विश्वास गरेको बताए। उनले सीको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको समेत बताएका छन्।

उनले नेपाल र चीनबीच विकास र समृद्धिको लागि रणनीतिक सहकार्य समेत उल्लेख गरेका छन्। वाङले नेपालले आफ्नो भूमिमा चीनविरूद्ध कुनै किसिमको गतिविधि हुन नदिने प्रतिबद्धता गरेको समेत बताएका छन्। ‘जे जस्तो भए पनि चीनसँगको नेपालको नीति परिवर्तन हुदैन,’ वाङलाई उल्लेख गर्दै सिन्हवाले उल्लेख गरेको छ।

वाङले दुई मुलुकले बीच ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय बारपार बहुआयामिक सम्पर्क सञ्जाल) का परियोजनाहरुलाई छिटो अघि बढाउने बताएका छन्। उक्त सञ्जाल अन्तरगत बन्दरगाह, सडक, रेलमार्ग, हवाई, सञ्चार र अन्तरदेशीय रेलमार्गको प्रारम्भिक अध्ययनको गरिने घोषणा गरिएको वाङले बताएका छन्।

नेपाल उत्रनु अघि सीले अर्को छिमेकी राष्ट्र भारतको भ्रमण गरेका थिए। वाङले भारत भ्रमणमा ‘चीन–भारत प्लस’ सहकार्यलाई अघि बढाउन खोजेको बताएका छन्। वाङले भारत र नेपाल दुवैको भ्रमणले दक्षिण एसियाका छिमेकी बीचमा राम्रो सम्बन्ध विस्तार गर्न सहयोग पुगेको उल्लेख गरेका छन्। कान्तिपुरबाट

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्