बौद्ध साहित्य नेपाली भाषामा अनुवाद


 


काठमाडौँ, १० कात्तिक

बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा उक्त कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको हो ।

शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिइएको छ । उक्त कृतिमा आठ हजार पङ्ती रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसहस्रिका प्रज्ञा पारमिता भनिएको हो ।

पुरानो धार्मिक दस्तावेजका रुपमा रहेको उक्त कृति अनुवादपछि एक हजार ३०० पृष्ठको चाँडै सर्वसाधारणका लागि बजारमा ल्याइने अनुवाद समितिका संयोजक एवं बौद्ध विद्धान् टिका शेर्पाले जानकारी दिए । बौद्ध साहित्यको महत्वपूर्ण कृति प्रज्ञा पारमिता हो । यसमा २५ हजार पङ्तीको पञ्चबीसंती र एक लाख पङ्तीको सतसहस्रिका प्रज्ञा पारमितासमेत छन् । तीनलाई अनुवाद गर्न बाँकी छ । राष्ट्रिय गौरबको आध्यात्मिक परियोजनाका रुपमा लिएको अनुवाद आगामी दुई वर्षभित्र यसलाई पूरा गरिने समितिले जनाएको छ ।

यसको लागत करीब रु चार करोडको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । उक्त साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्