जीप दुर्घटना, ११ काे ज्यान गयाे



सन्धिखर्क, भदाै १२

अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् ।

हंसपुर गाविस-४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर-१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय हुमबहादुर घर्तीमगर, हंसपुर-२ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र धारापानी-६ अर्घाखाँचीकी ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ किमडाँडाका नारायणबहादुर राना, सन्धिखर्क नगरपालिका-२ बस्ने ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षीय भेषबहादुर थापामगर, पुर्कोटदह-४ गुल्मीकै ३७ वर्षीय जिवबहादुर कुँवर, गुल्मी भनभने-१ का ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।

कमला पौडेल र जिबबहादुर कुँवरको उपचारको क्रममा जिल्ला अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको थियो । घाइते प्यूठान बाँदिकोटका जिबलाल पोख्रेल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँचीका अर्जुन खनाल, खन-७ अर्घाखाँचीका सुरज खनाल र पुर्कोटदह-४ गुल्मीका यमलाल कुँवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

धारापानी-६ की मुना पौडेल र धारापानी-६ कै कविता पौडेलको भने जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भइरहेको छ । गाडी चालक प्रहरी हिरासतमा रहेका छन् ।

 जीपमा तीनजना बच्चासहित १९ जना यात्रु चढेका थिए । उकालोमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धिखर्कदेखि झन्डै ३० किलोमिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News