हराएको ७ बर्षपछी भेटिईन २७ वर्षीया कल्पना


 


जाजरकोट। बेरेकोट गाउँपालिका ५ करुकाकी एक युवती सात वर्षपछि भेटिएकी छिन्। हराएका महिलाको संरक्षण घर नामक एक सामाजिक संस्थाको पहलमा भारतको नयाँ दिल्लीबाट २७ वर्षीया कल्पना थापाको उद्धार गरिएको हो।

तमाना शिष्टर अफ च्यारेटी (हराएका महिलाको संरक्षण घर) मा कार्यरत मन्जुसाको टीमले कल्पनालाई भारतको नयाँ दिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा पुर्‍याएर बुधबार कल्पनाका दाइ महेन्द्र थापाको जिम्मा लगाइएको हो।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, स्थानीय प्रशासन, पत्रकार र अधिकारकर्मीको रोहवरमा उनलाई आफन्तको जिम्मा लगाइएको हो। तीन वर्ष पहिला ९सन् २०१७ मे १५ तारिखमा० नयाँ दिल्लीको गुरागाउँस्थित एक अस्पतालमा भारतको प्रहरीले कल्पनालाई फेला पारेको मन्जुसाले बताइन् ।

भारतीय प्रहरीले कल्पनालाई ताउड देविल वृद्धाश्रमलाई बुझाएको जानकारी दिँदै मन्जुसाले कल्पना फेला परेको एक वर्षपछि आफू कार्यरत संरक्षण घरमा कानुनी हिसाबले आइ पुगेको बताइन् । मानसिक समस्या देखिएपछि कल्पनालाई एक वर्षसम्म उपचार गराएको र अहिले उनी सामान्य अवस्थामा रहेको मन्जुसाको भनाई छ । कल्पनाले घरमा रहेकी आमालाई भेट्ने इच्छा गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मामार्फत यहाँसम्म आइ पुगेका मन्जुसाले जानकारी दिइन्।

हराएकी कल्पनालाई खोजी गर्दा फेला नपारेको दाइ महेन्द्रले बताए ।मानसिकरुपमा अस्वस्थ भएकी कल्पनालाई कसैले फकाएर भारत लगेको हुनसक्ने उनको भनाई छ। कल्पनाको थप उपचारका लागि चाहिने रकमको व्यवस्था गाउँपालिकाले गर्ने उपाध्यक्ष शाहीले बताइन् । सात वर्षदेखि हराएकी कल्पनालाई आफ्नै गाउँघरमा पुर्नस्थापना गर्न सहयोग गर्ने सबैलाई उपाध्यक्ष शाहीले धन्यवाद दिइन् । अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्