कस्तो छ यो तीजमा सुरक्षा व्यवस्था ?


 


१३ रुटमा गाडी चलाउन निषेध, ५८१ ट्राफिक परिचालन

सुरेन्द्र सुवेदी
काठमाडौं, भदौं १८

यस वर्षको हरितालिका तीजमा पाशुपत क्षेत्रको यातायात व्यवस्थापन तय भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहान ३ बजेदेखि साँझ ६ बजेसम्म पाशुपत क्षेत्रमा यातायात प्रवेशमा रोक लगाएको छ ।

महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार चाबहिलदेखि गौशालातर्फ, पुरानोबानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट पुरानोबानेश्वर, द्वारिका होटलको उत्तरतर्फको मार्ग, सिफल चौरबाट जयबागेश्वरी र लामापोखरीदेखि मित्रपार्कको रुटमा यातायात प्रवेशमा रोक लगाइएको छ । यस्तै गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशाला, मालबहाक गाडी तीनकुनेबाट सिनामंगल– तिलगंगा, जोरपाटी करिडोरबाट गौरीघाट आउने, सिनामंगलपुलबाट होटल महाराजतर्पm जाने र जोरपाटी–बौद्धबाट आउने सबै मालबहाक गाडी चाबहिलबाट अगाडि आउन रोक लगाएको डिआइजी अर्यालले जानकारी दिए ।

पाशुपत क्षेत्रमा पार्किङका लागि तिलगंगामा दर्शर्नाथी, तिर्थयात्री र बिदेशी पर्यटकका गाडी, प्रहरी प्रभाग गौशालामा पास भएका सुरक्षा निकाय तथा सरकारी गाडी, पशुपति क्षेत्र बिकास कोष कार्यालय परिसरमा पास भएका सवारी साधन, अमालकोटमा पास भएका सवारी साधन, भारतीय दर्शनार्थीका गाडी, सिफल चौरमा स्वदेशी तथा बिदेशी दर्शनार्थी र तीर्थयात्रीका गाडी र गुहेश्वरी पारी बौद्ध जोरपाटीबाट आउने गाडीलाई पार्कको व्यवस्था गरेको महाशाखाले जनाएको छ ।

भक्तजनका गाडीलाई सिफलमा पार्क गर्न सानो गौचरन, कालोपुल हुदै सिफलचौर र तिलगंगामा पार्क गर्ने गाडी तीनकुने, सिनामंगलहुँदै तिलगंगामा पु¥याइने छ ।  बस तथा माइक्रोबसलाई पुरानोबसपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै त्यही रुटबाट फर्काइने छ ।

पुरानोबसपार्कबाट भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीबिभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही रुट फर्कने ब्यवस्था ट्राफिकले मिलाएको छ । मालबहाक गाडीलाई जोरपाटी, बौद्ध, चाबहिलहुँदै महाराजगञ्जतर्फ जाने चुच्चेपाटी, भृकुटीमण्डप, गोपिकृष्णहल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ मोडिएको छ ।

यस्तै कोटेश्वरबाट तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबहाक गाडीलाई कोटेश्वर, कलंकी, महाराजगञ्ज र बौद्ध जाने गाडी गोपिकृष्णहल, कपन, महाकाल, चुच्चेपाटीहुँदै बौद्धतर्फ पठाइने छ । तीजका लागि ट्राफिक प्रहरी ५ सय ८१ जना परिचालित हुनेछन् । एसएसपी, एसपी १÷१, डिएसपी २, प्रहरी निरीषक १३, सइ र असइ १ सय १८, हवल्दार १ सय ४२ र जवान ३ सय ४ जना परिचालित हुने महाशाखाले जनाएको छ ।

पर्याप्त प्रहरी परिचालनः एआइजी थापा
काठमाडौं । तीजको अवसरमा शान्ति सुरक्षामा कुनै कमी नहुने महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापाले बताए । उनले भने, ‘हामीले पर्याप्त प्रहरी परिचालित गरेका छौं, शान्ति सुरक्षामा कुनै कमी आउने छैन ।’ कार्यालयका अनुसार सादा पोशाकमा पनि पर्याप्त प्रहरी खटिने छन् ।

राष्ट्रिय अनुसन्धान बिभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले तीजको अवसरमा पाशुपत क्षेत्रमा शान्ति सुरक्षामा कमी नआउने दावी गरे । उनले भने, ‘आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ, पाशुपत क्षेत्रमा तीज शान्तिपूर्ण र मर्यादित हुन्छ ।’

प्रकाशित मिति: १८ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्