पहिरोले पुरेर र बगेर सात जनाको मृत्यु


 


काठमाडौं,भदाै १९

देशका बिभिन्न भागमा पहिरोले पुरेर र नदीमा बगेर शनिबार र आइतबार बिहान सात जनाको मृत्यु भएको छ । स्याङ्जाको केवरे भन्ज्याङ–७ उपल्लोताप्केका थमनसिंह सारुको कर्कटपाताले छाएको दुई तल्ले कच्चीघरमाथिबाट खसेको पहिरोले कोठा भत्कँदा ४ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिव २ बजे भएको उक्त घटनामा परेर मृत्यु हुनेमा ७८ बर्षीया चन्द्रकुमारी सारु, तिज मान्न माइत आएकी मल्याङकोट–९ कि ३२ बर्षीया होमकुमारी मस्राङगी, उनका ७ बर्षीया छोरी पुनम मस्राङगी र १ बर्षीय छोरा मिलन मस्राङगी छन् । उनीहरुको पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता डिआइजी माधवप्रसाद जोशीले बताए ।

बगेर र डुबेर ४ जनाको मृत्यु
बाराको निजगढ नगरपालिका–१, धन्सार खोला तर्ने क्रममा खोलामा बाढी आउँदा स्थानीय ७० बर्षीय सोमनाथ कमर र उनकी ६५ बर्षीया श्रीमती रमनी कमरलाई खोलाले बगाएको छ । उनीहरु दुवैको मृत्यु भएको प्रहरीले जनायो ।

महोत्तरीको टुटेश्वर–९, टुटेश्वर खोलाले बगाएर स्थानीय ७ बर्षीय मानव बोलनको मृत्यु भएको छ । उनीसंगै खोलाले बगाएका उनका आमा, दाजु र फुपु खोलाबाट सकुशल बाहिर निस्कन सफल भएका थिए ।

महोत्तरीको सितापुर भङगाहा–३ जमुनियामा रातुखोलामा शनिबार राति स्थानीय ११ जना औरही बजारबाट घर फर्कने क्रममा खोला तर्दै गर्दा खोलाको बिचमा पुग्दा बाढी आएपछि सबैलाई बगाएको थियो । खोलाले बगाएकामध्ये १० जनाको प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले उद्धार गर्न सफल भएको थियो भने पशुपतिनगर–६ कि ५० बर्षीया साबित्रीदेवी चमारको उद्धार गर्न प्रहरीले सकेन । उनीलाई जमुनियामा खोलाको किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्