गुप्तालाई सघाउने प्रहरी निरीक्षक पक्राउ


 


काठमाडौं, भदाै २१

पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा ललितपुरको भैसेपाटी प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् । एक महिला व्यावसायीसँग रकम असुल्न अपहरणसम्मको धम्की दिएका पूर्व मन्त्री गुप्ता सोमबार पक्राउ परेका थिए ।

पूर्व मन्त्री गुप्तासँग नियमित सम्पर्कमा रहने र गुप्ताले असुल्ने रकमबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँ लिइसकेको खुल्न आएको छ । ललितपुर परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार प्रहरी निरीक्षक पण्डितले पूर्वमन्त्री गुप्तालाई सहयोग गर्दै आएका थिए र उनले गरेको सहयोगवापत ५० लाख रुपैयाँ दिनु पर्ने अडान राखेका थिए ।

‘गुप्ताबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँमात्र लिएको अनुसन्धानबाट खुल्यो ।’ एसएसपी अधिकारीले भने । संघाइ ग्रुपका पवन सांघाई अपहरण अभियोगमा गुप्ता तीन वर्ष कारागार बसेका थिए ।

गत वर्ष साउन २ मा छुटेपछि उनले पुनः अपहरणको धम्की दिँदै रकम असुल्दै आएको प्रहरीले जनाएको छ । पहिलो संविधानसभामा सभासद तथा पूर्व आपूर्ति मन्त्रीसमेत बनेका उनले सद्भावना पार्टी युनाइटेडसमेत गठन गरेका थिए ।

५ महिनअघि भैंसेपाटी प्रभाग प्रमुख भएर गएका प्रहरी निरीक्षक पण्डितको गुप्तासँग डिल्लीबजार कारागारमा परिचय भएको थियो । गुप्ता छुटेपछि उनीहरुबीच सहकार्य भइरहेको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।

श्रीमतिको हत्यापछि कारागारमा रहेका निलम्बित सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाकी प्रेमीका तारा रेग्मीलाई पूर्व मन्त्री गुप्ताले अपहरणसम्मको धम्की दिएका थिए । ५० लाख रुपैयाँ माग गर्दै धम्की दिएको उजुरीपछि ललितपुर प्रहरीले गुप्तालाई पक्राउ गरेको हो ।

गुप्ता पक्राउसँगै उनीसँग सहकार्य गर्दै आएका प्रहरी निरीक्षक पण्डित पनि पक्राउ परेका हुन् । ललितपुर प्रहरीले प्रहरी निरीक्षक पण्डितलाई मुद्दा चलाउने तयारी गरेको एसएसपी अधिकारीले बताए ।

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्