बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक


 


(बारा), पुस १६
विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम पनि उनीहरूले रोकेका छन् । बम्जनको जन्मथलो निजगढ नगरपालिका–१२ रतनपुरीको बुङ्जोर गाउँमा पर्छ । निर्माणाधीन गुम्बा त्यहाँबाट दुई किमिको दूरीमा छ ।

‘उहाँ (रामबहादुर बम्जन) को मैत्रीय धर्मबाहेक अन्य धर्मको कुनै पनि गतिविधि नगर्न अनुयायीले उर्दी जारी गरेका छन्,’ गुम्बा निर्माण समितिका अध्यक्ष वीरबहादुर थिङले भने, ‘गुम्बा बनाउनेलाई हातखुट्टा भाँचिदिने धम्की आएको छ ।’ उक्त धम्कीपछि समितिले शान्ति सुरक्षाको माग गर्दै गुम्बा निर्माण जारी राख्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय र निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ ।

गुम्बा निर्माण रोक्न बम्जनका भाइसमेत सक्रिय छन् । बम्जनले सिन्धुली बोलाए पनि डरले जान नसकेको एक सदस्यले बताए । उनका अनुयायीमध्येका स्थानीय वेदबहादुर थिङले भने गुम्बा निर्माणमा रोक नलगाएको दाबी गरेका छन् । ‘जग्गाको विवादले निर्माणमा समस्या भएको हो, हामीसित त्यसको सरोकार छैन । रोक लगाएका छैनौं,’ उनले भने ।

निर्माण समितिले जिल्ला प्रशासन कार्यालयमा गत पुस ६ गते उजुरी दिएको थियो । उजुरीपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जिल्ला प्रहरी कार्यालयमार्फत सम्बन्धित वडाका प्रहरी चौकीलाई पत्र काटेका छन् । निजगढ इलाका प्रहरी कार्यालयमा बम्जनका अनुयायीविरुद्ध ठाडो उजुरीसमेत आएको प्रहरी निरीक्षक विकास थपलियाले बताए ।

विवाद चर्केपछि गाउँमै विवाद समाधानको प्रयास भइरहेको बारे वडाध्यक्ष ज्ञानबहादुर गोलेले आफूलाई जानकारी दिएको प्रहरी निरीक्षक थापा बताउँछन् ।

गुम्बा निर्माणको काम तीन महिनादेखि रोकिएको छ । चुरेसँगै जोडिएको ६ कट्ठा ऐलानी जग्गामा गुम्बा निर्माण भइरहेको हो । वडा कार्यालयले गुम्बा निर्माणका लागि पाँच लाख रकम उपलब्ध गराएको छ । पूजाका लागि टहरा बनाउन खोज्दा बम्जन र उनका अनुयायीले निर्माणमा रोक लगाएको समितिका अध्यक्ष थिङको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्