पाल्छु भन्नेले नै लुटे, बालिका र किशोरी जोगाउनै मुस्किल


 


(कञ्चनपुर), पुस १६
चिसो अत्यधिक बढेको थियो । साँझका लागि दाउरा जोहो गर्न उनी नजिकैको सालघारी गइन् । तीन वर्षीया छोरी भित्रै सुतेकी थिइन् । एक/डेढ घण्टापछि फर्कंदा घरबाहिरै श्रीमान्‌को छोरी बितेको सुनाए । उनी अक्क न बक्क परिन् ।भित्र पसेर हेर्दा छोरीको गुप्तांगबाट रगत बगिरहेको थियो । उनले तत्काल छिमेकी गुहारिन् । वरिपरिका महिला जम्मा भए । उनीहरूले महिलाका श्रीमान्ले नै छोरीलाई बलात्कार गरेको भन्दै पिट्न थाले । केही बेरपछि प्रहरी आएर नियन्त्रणमा लियो ।

‘भित्र पसेर हेर्दा पनि मलाई विश्वास लागेन,’ बालिकाकी आमाले रुँदै भनिन्, ‘यस्तोसम्म गर्ला भन्ने सोचेकी थिइनँ ।’ उनका अनुसार श्रीमान्ले नै छोरी आफूले हेरिदिने भन्दै उनलाई दाउरा लिन पठाएका हुन् ।उनी तीन महिनाअघि पुरानो घर छाडी भीमदत्त नगरपालिका–१८ सालघारीमा भागी विवाह गरेर आएकी हुन् । पहिलेका पतिबाट जन्मिएकी छोरीलाई परशुराम नगरपालिकास्थित माइतमै छाडेकी थिइन् । पछिल्ला पतिले बालिकालाई आठ दिनअघि मात्रै यहाँ ल्याएका हुन् । ‘माइजू, नाइँ म जान्नँ भन्दै थिई,’ बालिकाकी माइजूले भनिन्, ‘मेरा छोराछोरी केही छैन, यसलाई राम्ररी पाल्छु भनेर ल्याएको हो, यस्तो गर्न पो ल्याएको रहेछ ।’

सोमबार साँझको घटनापछि बालिकाकी आमा बोल्नै नसक्ने अवस्थामा छिन् । पुरानो घर छाडेर आएकामा अहिले पछुतो मान्दै छिन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र चन्दका अनुसार बालिकाको मंगलबार साँझ पोस्टमार्टम गरिएको छ । आफन्तले ढिलो गरी जाहेरी दिएकाले पोस्टमार्टम गर्न ढिलाइ भएको उनले बताए । ‘बालिकाकी आमाले नै सौतेलो बुबाविरुद्ध जाहेरी दिएकी छन्,’ चन्दले भने, ‘हामी अनुसन्धानमै छौं, पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्दै जानेछ ।’ स्थानीयले घटनामा संलग्नलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेका छन् ।

बालिका र किशोरी जोगाउनै मुस्किल
डेढ वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या पनि सालघारीमै भएको हो । अहिलेसम्म अपराधी पत्ता लाग्न नसकेको उक्त प्रकरणपछि पनि कञ्चनपुरमा बलात्कारका ४ दर्जनभन्दा बढी घटना भइसकेको जिल्ला प्रहरीको तथ्यांक छ । तीमध्ये अधिकांश पीडित १० देखि १५ वर्षसम्मका छन् । ‘बालिकाहरू साँच्चिकै जोखिममा छन्, तिनीहरू अरूबाट होइनन्, आफन्तबाटै असुरक्षित छन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘धेरैजसो बलात्कारका घटनामा बालिका पीडित भएका छन् ।’

माइती नेपालले गत वर्ष जिल्ला प्रहरीमा बलात्कारका दुई मुद्दा दर्ता गराएको छ । दुवैमा पीडित बालिका १० वर्षमुनिका छन् । संयोजक भट्टका अनुसार दुवै जना आफन्तबाटै पीडित भएका हुन् । ‘लागूऔषध र दुर्व्यसनले मानसिकता नै दरिद्र भएको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालको दुरुपयोग पनि कारण देखिएका छन् ।’

जिल्ला प्रहरीका अनुसार चालु वर्ष जबर्जस्ती करणीका १८ मुद्दा दर्ता भएका छन् । एक वर्षअघि पनि छोरी बलात्कारकै आरोपमा पुनर्वास नगरपालिकाबाट एक जना पक्राउ परेका थिए । श्रीमती घरमा नभएको मौका छोपी ती व्यक्तिले बलात्कारसँगै अश्लील भिडियो बनाएर छोरीलाई धम्कीसमेत दिने गरेको पाइएको थियो ।

आमाले मोबाइलमा भिडियो देखेपछि घटना बाहिरिएको हो । लगत्तै उनले श्रीमान्विरुद्ध जाहेरी दिइन् । गत वर्षै भीमदत्त नगरपालिका–१२ ऐरीमा तीन वर्षीया बालिका छिमेकी बालकबाट बलात्कृत भएकी थिइन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्