नेपाल भ्रमण वर्षः दशरथ रंगशालामा २० यती!


 


काठमाडौं, पुस १७
हिममानव यतीलाई प्रत्यक्ष कसैले देखेका छैनन् तर बुधबार दशरथ रङ्गशालामा २० वटा अजङ्गका यती एकसाथ देखिए । यतीको वास्तविक अस्तित्व अझै रहस्यकै पर्दाभित्र छ तर अचानक भेटिएको यतीको लहर हेर्न दशरथ रङ्गशालामा भीड नै लाग्यो । कसैले सेल्फी खिचे, कसैले यतीको फोटो नै खिचे ।

कल्पनाको आकृति अनेक रूपमा देख्दा त्यसको मेहनत केलाउनेको छुट्टै भीड थियो । नेपालको हिमाली भेगमा बारम्बार यतीको पाइला देखिने गरेका खबर बाहिर आइरहन्छ । पछिल्लो समय गएको वैशाखमा भारतीय सेनाको एक टोलीले मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटिएको फोटोसहित दाबी गर्यो । टोलीले ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइलाको फोटोसमेत सार्वजनिक गरेको थियो । यिनै विश्वमै दुर्लभ र रहस्यमयी यतीको छविलाई भिजिट नेपाल २०२० को मस्कट बनाइएको छ । नेपालको विशाल हिमाली क्षेत्रमा बास रहेको जानकारी दिन यतीलाई मस्कट बनाइएको संयोजक सुरज वैद्य बताउँछन् ।

विभिन्न सन्दर्भग्रन्थअनुसार इतिहासको १९औँ शताब्दीबाट नेपाल र तिब्बतको उच्च हिमाली भेगमा यतीको अस्तित्व रहेको चर्चा हुन सुरु भएको हो । ठ्याक्कै यतीलाई अघिल्तिरबाटै देखेर यसको वास्तविक तस्बिर सार्वजनिक गर्न भने हालसम्म कसैले सकेको छैन । नेपाली शेर्पा र चीनको स्वशासित क्षेत्र तिब्बतवासीका अनुसार मानिसभन्दा अजङ्गको स्वरूप र लामो पुच्छर भएको बाँदरजस्तो आकृति यतीको हुन्छ । सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्ययता ब्रायन हड्सनले हिमालमा शरीरभरि रौँ भएको भयङ्कर जीवले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका थिए ।

परबाट देखिएको छवि र पाइलाको अध्ययनपश्चात् यतीको विशालकाय आकृतिको परिकल्पना गरिएको छ । यही परिकल्पना साकार पार्दै भिजिट नेपाल २०२० को १०८ वटा मस्कट तयार भइरहेका छन् । भिजिट नेपालको आयोजकसँग सहकार्य गर्दै एक सय ८ कलाकार यतीमा सिङ्गो नेपाल झल्काउन व्यस्त छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्