कलेजले असुलेको बढी रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क नतिर्ने विद्यार्थीको चेतावनी


 


काठमाडाैँ, पुस २३
कलेजले बढी असुलेको रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क पनि नतिर्ने चितवन मेडिकल कलेजका विद्यार्थीले चेतावनी दिएका छन् । भदौ पहिलो सातादेखि कलेजमा तालाबन्दी गरेर पढाइ र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले न्याय नपाएपछि आन्दोलनको स्वरूप बदलेका हुन् । पढाइलाई निरन्तरता दिन विद्यार्थीले मंगलबार तालासमेत खोलेका छन् ।

‘हामीले पढाइलाई निरन्तरता दिन पाँच महिनापछि ताला खोलेका छौँ । तर, यसको अर्थ आन्दोलन छाडेको भन्ने होइन,’ चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य एवं सिएमसीका विद्यार्थी प्रवीण लामाले भने, ‘हाम्रो माग पूरा नभएसम्म सरकारले तोकेको रकम पनि कलेजलाई एक रुपैयाँ तिर्दैनौँ । अब हाम्रो आन्दोलन पढाइसँगै अगाडि बढ्छ ।’ आफूहरू अब प्रयोगात्मकलगायत वार्षिक परीक्षाको तयारीमा लाग्ने उनले बताए । यसअघि प्रवेशपत्र जलाएर उनीहरूले वार्षिक परीक्षा नै बहिष्कार गरेका थिए ।

आठ संकायका विषयको पढाइ हुने सिएमसीमा सबै विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क असुलेको छ । तर, १० मंसिरमा सञ्चालकसँग सहमति गर्दै सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको पहिलो र दोस्रो वर्षका अतिरिक्त शुल्क मात्रै फिर्ता या समायोजन गर्ने जनाएको थियो । सरकारले सञ्चालककै पक्षपोषण गर्दै विद्यार्थीलाई थप अन्याय गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । नर्सिङ, बिपिएच, बिएमएलटी, बिएमआइटी, फार्मेसीलगायत विषय पढ्ने विद्यार्थीसँग असुलेको बढी शुल्क पनि फिर्ता गर्न उनीहरूको माग छ । यी विषयमा छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म अतिरिक्त शुल्क कलेज प्रशासनले असुलेको विद्यार्थी बताउँछन् ।

‘एमबिबिएस र बिडिएस संकायका विद्यार्थी मात्रै ठगिएको होइन, कलेजमा पढाइ हुने आठवटै संकायका विद्यार्थीको ०७२/७३ देखिको रकम फिर्ता वा समायोजन हुनुपर्छ,’ एमबिबिएस चौथो वर्षमा अध्ययनरत असीम अख्तरले भने । अहिलेसम्म सबै विद्यार्थीसँग ५६ करोड बढी ठगी भएकोमा सात सय विद्यार्थीको ३२ करोड फिर्ता गर्नुपर्ने र २२ करोड समायोजन हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।

कलेज प्रशासनले पटक–पटक बढी शुल्क मागेर हैरान बनाएको सिएमसीका विद्यार्थीका अभिभावकको गुनासो छ । ‘मेडिकल कलेजले अतिरिक्त शुल्कविना भर्ना नै नलिने गरेको छ । बाध्यताले तिर्नुपर्छ । रकम तिरेको बिलसमेत समयमा पाइँदैन,’ अभिभावक टेकप्रसाद चापागाईंको गुनासो छ । कलेजले आफूहरूसँगको छलफलमा रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउने गरे पनि कार्यान्वयन नगरेको उनले बताए ।

अभिभावकहरूले पनि संघर्ष समिति बनाएर विद्यार्थीको आन्दोलनमा साथ दिँदै आएका छन् । उनीहरूले कलेज प्रशासनसँग मात्र नभई बुद्धिजीवी, नागरिक अगुवा र स्वयं विद्यार्थीसँग अन्तक्र्रिया गर्दै आएका छन् ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने ०७५/७६ अघिका विद्यार्थीसँग बढी शुल्क नै नउठाएको दाबी गरे । ०७५/७६ पछिका एमबिबिएसतर्फका ९० र बिडिएसतर्फका ३६ विद्यार्थीको रकम मात्रै समायोजन गर्नुपर्ने उनको दाबी छ । उनीहरूको त्रिवि रजिस्ट्रेसन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतमा कट्टा गरी रकम समायोजन गर्न तयार रहेको उनले बताए । तर, विद्यार्थी भने पहिलो र दोस्रो वर्षका विद्यार्थीको अतिरिक्त शुल्क समायोजनमा परीक्षा शुल्क दुई हजार पाँच सय, त्रिवि दर्ता शुल्क पाँच सय र नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क तीन हजारबाहेक अन्य शुल्क जोड्न नपाउने बताउँदै आएका छन् । नयाँ पत्रिका दैनिकाबाट

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्