ललिता निवासमा माधव नेपालको प्रष्टीकरणः ‘म दोषी छैन, अपराधी होइन’


 


विराटनगर, माघ २४
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो प्रष्टीकरण दिएका हुन्।

‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन,’ नेता नेपालले भने, ‘म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’ उनले अघि भने, ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’

आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको उनको दाबी छ । तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ भने कतिपयले अख्तियार ठूला नेताहरुसँग डराएको टिप्पणी गरेका छन् । उनले भने,‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।’

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्