प्रधानमन्त्रीको पुस्तक भिजन टु एक्सन सार्वजनिक , यस्तो छ समृद्धि योजना


 


काठमाडौ , फागुन १०

प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा उहाँको ६९औँ जन्मोत्सवको सुअवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै हुनुहुन्छ । उक्त समारोहमा ९० वर्षीय उहाँका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गर्नुभएको छ ।

आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सार्नुभएको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेट्नुभएको छ ।

पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताउनुभयो । उहाँले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भन्नुभयो, “अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।”
पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरु अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भन्नुभयो । उहाँले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताउनुभयो ।

नेपाललाई ढुङ्गा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि उचित व्यवस्थापनको अभावमा घर बन्न नसकेको सन्दर्भ जोड्दै उहाँले केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले देश गरीब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भन्नुभयो, “कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ ।” उहाँले धेरै ठूलाठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । सरकारले सडक बालबालिका, सडकमानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको समेत बताउनुभयो ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्