नेपालमा कोरोनाको प्रकोप देखिए पहिलो महिना १५ सय संक्रमित


 


काठमाडौं, चैत्र २
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए । ‘भियतनाम, मलेसिया, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीव्र रूपमा बढेको छैन । तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटाली र इरानकै गतिमा नेपालमा संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन् । यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने ।

स्वास्थ्य अधिकारीहरूका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो ।

संक्रमित सबैलाई अस्पताल लैजान नपर्ने सरुवारोग विशेषज्ञहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १५ सय संक्रमित हुँदा ८० प्रतिशत अर्थात् १२ सय बिरामी अस्पताल जानुपर्ने अवस्थाका हुँदैनन् । कपितयलाई ज्वरो नै नआउन पनि सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धालाई मात्रै समस्या हुन्छ । १५ प्रतशित अर्थात् १५ सयमा दुई सय २५ बिरामीलाई अस्पतालको आइसियू आवश्यक पर्छ । त्यस्तै, अन्य ७५ बिरामीलाई आइसियूसहित भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर अवस्थाका बिरामीमध्ये ३ दशमलव ३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको डा. पुनले बताए ।

स्वास्थ्यका एक अधिकारीले पनि अहिले सरकार ७५ जना गम्भीर बिरामीलाई कहाँ र कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्नेमा जुटेको बताए । कोरोना संक्रमितलाई लक्षणका आधारमा उपचार गर्ने तयारी छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले लक्षणका आधारमा संक्रमितको उपचार गरिने बताए । ‘कोरोना संक्रमितलाई एचआईभी, मलेरिया र फ्लुको औषधि चलाइने छ,’ बास्तोलाले भने, ‘निमोनिया भएको छ भने निमोनियाविरुद्धको औषधि पनि दिइन्छ । फोक्सोमा समस्या भए आइसियु भेन्टिलेटरको सहायतामा उपचार गरिन्छ ।’

जनस्वास्थ्य प्रयोगाला टेकुसँग आपत्कालीन अवस्थामा कोरोना परीक्षण गर्न दुई हजार किट मौज्दात छ । अभाव हुन नदिन थप दुई हजार किट खरिद प्रक्रिया अघि बढाएको छ । साथै आठ हजारका लागि प्रस्ताव गरेको प्रयोगशाला प्रमुख डा. रुणा झाले बताईन् । उनका अनुसार एकै पटक धेरैको परीक्षण गर्दा किट कम लाग्छ, तर एक–एक व्यक्तिको परीक्षणमा धेरै खर्च हुन्छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्