डेढ दर्जन भीआईपी कोरोनाको चपेटामा: २ काे मृत्यु, १६ संक्रमित!


 


काठमाडौं, चैत्र ४
चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा दर्जनाै भीआईपी परेका छन्। १८ जना भीआईपीमा देखिएकाे काेराेना भाइरसकाे संक्रमणले २ जनाकाे ज्यान गएकाे छ भने १६ जना उपचार गराइरहेका छन्।

कोरोना भाइरसका कारण हालसम्म ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको विश्व स्वस्थ्य संगठन (डब्लुएचओ)ले जनाएकाे छ। यसबाट संक्रमित १ लाख ८२ हजार ६ सयमध्ये करिब ७९ हजार निको भइसकेका छन् ।

कोरोना भाइरसकै कारण अमेरिका, स्पेन, इटाली लगायतका मुलुकमा संकटकाल घोषणा गरिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा कतारमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको डब्लुएचओले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा‍ टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । कोरोना भाइरसबाट आम सर्वसाधारणसहित नेता, सेलिब्रेटी र उच्च पदस्थ व्यक्ति पनि संक्रमित भएका छन् ।

कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउने भीआईपी

१. इटालीको चियेने नगरका मेयर गियोर्गियो भलोटी

इटालीको चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीले कोरोना भाइरसका कारण ज्यानै गुमाए ।  उनले गत शुक्रबार ज्यान गुमाएका थिए ।  कोरोना भाइरसका कारण उनको फोक्समा संक्रमण भएको र निमोनिया भएपछि शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।

उनमा गत मार्च ७ बाट कोरोना भाइरसको लक्षण देखा परेको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । चियेने नगर इटालीको सबैभन्दा बढी प्रभावित उत्तरी भेगमा पर्छ ।

२. फातेमाह रहबर इरानी सांसद

इरानी सांसद फातेमाह रहबरको कोरोना भाइरसकै कारण अघिल्लो साताको शुक्रबार मृत्यु भएको थियो ।

इरानको अर्ध सरकारी समाचार संस्था तस्नीमले उनको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । उनी गत फेब्रुअरी २१ मा भएको आम निर्वाचनमा तेहरानबाट निर्वाचित भएकी थिइन् ।

संक्रमितहरु

इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर बेलायती

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीलाई गत बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

इरानी सञ्चारमाध्यमले जनाए अनुसार उनको स्वास्थयमा सुधार आइरहेको छ । उनले कोरोना भाइरसको सामान्य लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालरोग विशेषज्ञ समेत रहेका उनी खामेनीको निकटस्थ मानिन्छन् । इरानमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ७२४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय ९० जना निको भइसकेका छन् ।

इरानी उपराष्ट्रपति मासुमेह एब्टेकार

इरानी उपराष्ट्रपति मासुमेह एब्टेकारमा दुई साता अघि नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । महिला एवं बालबालिका मामिलाका लागि उपराष्ट्रपति मासुमेह इरान सरकारको सबैभन्दा वरिष्ठ पदमा रहकी महिला हुन् ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा आइसकेपछि पनि उनले राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेकी थिइन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले उपराष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको थियो । उनको घरमै उपचार भइरहेको जनाइएको छ ।

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेज फर्नाण्डेज

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेजलाई कोरोना भाइरसको पुष्टि भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले शनिबारमात्र जनाएको थियो । हाल उनी आइसोलेसनमा बसिरहेकी छिन् ।

त्यसबाहेक प्रधानमन्त्री पेद्रो सान्चेज पनि आइसोलेसनमा छन् । स्पेनमा कोरोना भाइरसलाई मध्यनजर गरी आपतकालको घोषणा गरिसकिएको छ ।

स्पेनमा हालसम्म ९ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३ सय ४२ जनाको मृत्यु भइसकेको छ भने ५ सय ३० जना निको भइसकेका छन् ।

स्पेनी समानता मन्त्री आइरेने मोन्तेरो

स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरो पनि कोरोना भाइरसबाट संक्रमित छिन् । उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतीसँगै क्वारेन्टाइनमा राखिएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य स्थीर रहेको जनाइएको छ ।

आर्सनलका म्यानेजर मिकेल आर्टेटा

राजनीतिज्ञबाहेक खेलाडी तथा खेलकुदमा संलग्न मानिसहरुलाई पनि यतिबेला कोरोना भाइरसले सताएको छ । कोरोना भाइरसले सताउनेमा परेका छन्, आर्सनलका म्यानेजर मिकेल आर्टेटा ।

उनलाई अघिल्लो साता नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आइसोलेसनमा छन् । उनलाई कोरोना भाइरसको संक्रमण देखा परेपछि शुक्रबार ब्राइटनविरुद्धको खेल नै रद्द गरिएको थियो । आर्सनलले आफ्ना सबै खेलाडी तथा कोचिङ स्टाफलाई उच्च निगरानीमा राखेको छ ।

चेल्सीका खेलाडी कलम हडसन अडोये

चेल्सीका उदयीमान खेलाडी कलम हडसन अडोयेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै हडसन अडोयेले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका थिए ।

उनले सन्देशमा चिकित्सकहरुको परामर्श अनुसार सतर्कता अपनाएको जनाएका थिए । हडसन अडोयेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चेल्सी क्लबले पनि आफ्ना सबै खेलाडी एवं कोचिङ स्टाफहरुलाई उच्च निगरानीमा राखेको छ ।

एनबीए खेलाडी रुडी गोबर्ट

अमेरिकाको राष्ट्रिय बास्केटबल प्रतियोगिता नेशनल बास्केटबल एसोसिएसन अन्तर्गत युटा जाज क्लबका खेलाडी रुडी गोबर्टमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनबीएले सम्पूर्ण खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

युटा जाजका खेलाडी डोनोभान मिचेल

युटा जाज कै अर्का खेलाडी डोनोभान मिचेलमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्पोट्र्स साइट ईएसपीएनले जनाएको छ ।

ओक्लाहोमा सिटीमा गत बुधबार युटा जाजका सबै खेलाडीहरुको परीक्षण गरिएकोमा मिचेलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । खेलाडीहरुमा कोरोना भाइरस पुष्टि भएसँगै एनबीएले ओक्लाहोमा सिटी थण्डर्सविरुद्ध जाजको खेल नै रद्द गरेको थियो ।

एनबीए खेलाडी क्रिस्टियन उड

एनबीएमा डेट्रोइट पिस्टन्सका फरवार्ड क्रिस्टियन उडमा गत शनिबार कोरोना भाइरस पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । उनीनिकट मानिसहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले उनमा कोरोना भाइरस पुष्टि भएको जनाएका थिए ।

एनबीएमा कोरोना भाइरसको संक्रमण देखिने उनी तेस्रा खेलाडी हुन् । यससँगै एनबीएले प्रतियोगिताका सबै खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी

लण्डन भ्रमण गरी स्वदेश फर्केपछि सोफी ट्रुडोमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको गत बिहीबार क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको थियो ।

उनी हाल आइसोलेसनमा छिन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिने आइसोलेसनमा बसिरहेका छन् ।

यद्यपि ट्रुडोले कोरोना भाइरसको परीक्षण भने नगरिने क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यससँगै यसअघि तय भएका कुनै पनि कार्यक्रममा प्रधानमन्त्री ट्रुडोको उपस्थिति रहने छैन ।

क्यानाडामा हालसम्म ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ जनाको मृत्यु भइसकेको छ भने २७ जना निको भइसकेका छन् ।

बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिज

बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री एवं कन्जरभेटिभ पार्टीकी सांसद् नदिन डोरिजमा गत बिहीबार नै कोरोना भाइरसको लक्षण देखा परेको थियो ।

६२ वर्षे डोरिजलाई कोरोनाको संक्रमण देखिएकै दिन उनी प्रधानमन्त्री बोरिस जोनसन उपस्थित रहेको कार्यक्रममा सहभागी थिइन् । उनीसँगै उनकी आमामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

८४ वर्षे उनकी आमाले पनि कोरोना भाइरसको लक्षण देखाएकी थिइन् । आमासँगै डोरिज यतिबेला सेल्फ आइसोलेसनमा छिन् ।

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १ हजार ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ५५ जनाको ज्यान गइसकेको छ । ५२ जना भने कोरोनालाई जितेर निको हुन सफल भएका छन् ।

अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन

उनीहरुलाई गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु अष्टे«लिया भ्रमणमा रहेका बेला कोरोनाबाट संक्रमित भएका थिए ।

उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुमा शुरुमा यसको सामान्य लक्षण देखा परेको र परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताएका छन् । एल्भिस प्रेस्लीको बायोपिक शुटिङका क्रममा अष्टे«लियामा रहँदा उनीहरुमा कोरोनाको लक्षण देखा परेको थियो ।

उनीहरु दुबैले स्वास्थ्य अधिकारीको सल्लाहबमोजिम निश्चित स्वास्थ्य सतर्कता अपनाएको बताएका छन् ।

अस्ट्रेलियामा हालसम्म ४ सय ०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन् ।

ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेन

ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेनलाई गत बिहीबार कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पुष्टि भएको थियो ।

उनले अघिल्लो साता राष्ट्रपति बोल्सोनारोसँगै अमेरिका भ्रमणमा गएको थिए । अमेरिका भ्रमणका क्रममा उनी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागि कार्यक्रममासँगै देखिएका थिए ।

प्रेस सचिवमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ब्राजिलका राष्ट्रपतिले पनि कोरोना भाइरसको परीक्षण गराएका थिए । शुरुमा बोल्सोनारोलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएपनि पछि सामाजिक सञ्जालमार्फत् उनले यस्तो समाचारको खण्डन गरेका थिए ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ कोरोना कै कारण भने कसैको पनि ज्यान गएको छैन । कोरोनाबाट संक्रमितमध्ये त्यहाँ केबल २ जनामात्र निको भएका छन् ।

इटालीका सेनापति साल्भाटोर फरिना

इटालियन सेनाका सेनापति साल्भाटोर फरिनालाई गत सोमबार कोरोना भाइरस लागेको पुष्टि भएको थियो । उनलाई आइसोलेसनमा राखिएको छ भने उनको स्थानमा फेडेरिको बोनाटोलाई सेनापतिको जिम्मेवारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको केन्द्रविन्दु तोकेको युरोपेली मुलुक इटाली कोरोना भाइरसबाट चीनपछि सबैभन्दा धेरै प्रभावित मुलुक हो ।

त्यहाँ हालसम्म २७ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । तीमध्ये २ हजार १ सय ५८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये २ हजार ७ सय ४९ जना निको भइसकेका छन् ।

अस्ट्रेलियन गृहमन्त्री पटर डटन

अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डटनले शुक्रबार सबेरै ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए ।

उनले चिकित्सकको परामर्श अनुसार आफू अस्पतालमा उपचार गराइरहेको र अरुबाट अलग्गै बसिरहेको समेत जनाएका छन् । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अस्ट्रेलियामा मानिसहरुलाई भेला नहुन भनिएको छ ।

फ्लोरिडाको मियामी शहरका मेयर फ्रान्सिस सुआरेज

मियामी शहरका मेयर फ्रान्सिस सुआरेजलाई गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

ब्राजिलियन राष्ट्रपति तथा उनका प्रेस सचिवसहितको टोलीसँग एउटा कार्यक्रममा सहभागी भएको चार दिनपछि उनले स्वास्थ्य परीक्षण गरेको र त्यसपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यद्यपि उनले कोरोना भाइरसको लक्षण भने नदेखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले आफूलाई कोरोना भाइरस लागेकोबारे ब्राजिलका राष्ट्रपतिलाई जानकारी गराइएको बताएका थिए ।

मियामी डाडे काउन्टीमा कोरोना भाइरसबाट संक्रमित हुने उनी दोश्रा व्यक्ति बनेका थिए । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ३ हजार ८ सय २ जना संक्रमित भएका छन् ।

अमेरिकामा यसका कारण ६९ जनाको मृत्यु भइसकेको छ भने ७३ जना निको भएका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्