नेपालमै पीपीई उत्पादन सुरु, महावीर पुनले थाले काम


 


काठमाडौं, चैत १३

कोरोना आशंकित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई नेपालमै उत्पादन गर्न सुरु भएको छ ।

अन्वेषक महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पीपीई उत्पादन गर्न सरकारले स्वीकृति दिएको हो ।

सुरुमा ५ सय थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले बताए । चप्पल कारखाना र पेप्सीकोलामा रहेका ती गार्मेन्टले दुई–तीन दिनमा तयार गरिसक्ने बताएका छन् ।

पुनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।

‘हिजो डा. भगवान कोइरालासामु नमूना पेश गरियो । उहाँले स्वीकृत गर्नुभयो । आज हामीसँग भएको सामग्रीहरु गार्मेन्टलाई दिएका छौं । बढीमा पाँच सय वटा तयार हुनेछन्,’ उनले भने ।

एक साताअघि पोखरा पुगेका पुनलाई सम्पर्क गरेर केही अस्पतालले पीपीई अभाव भएको भन्दै यसको उत्पादनका लागि आग्रह गरेका थिए । त्यसपछि पुनले यसका काठमाडौं फर्केर तत्काल सक्रियता देखाएका हुन् । उनले बजारमा पीपीईका लागि आवश्यक सामग्रीहरुको खोजी गरे । थोरै संख्यामा मात्रै पाउन सके ।

अहिले केन्द्रलाई देशभरीबाटै पीपीईका लागि माग आइरहेको छ । ४–५ हजार भए पनि नपुग्ने स्थिति रहेको उनी बताउँछन् । यसलाई कसरी वितरण गर्ने भन्ने निधो भएको छैन ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्