‘पीपीई जाँच गरी स्वीकृति प्रदान गरिएको छैन’


 


काठमाडौँ, चैत्र १५
नेपाल मेडिकल काउन्सिलले मुलुकमा निर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को जाँच पडताल गरी उपयोग गर्न स्वीकृति नदिएको प्रस्ट पारेको छ ।

जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण, सुरक्षा सामग्री, उपचार पद्धतिलगायत विषयमा काउन्सिल सम्बेदनशील रहेको औंल्याउँदै काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विज्ञप्तिमार्फत यो विषय काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । ‘चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा बिरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झैं नियमित छ’, विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय स्रोत साधन उपयोग गरी बनाइएका पीपीईको उपयोग सराहनीय भए पनि उत्पादित वस्तुको गुणस्तर हेर्न तोकिएको निकायले टुंगो लगाउने व्यवस्था भएको समेत काउन्सिलले बताएको छ । गुणस्तर तथा नापतौल विभागले आगामी आइतबार सरोकारवाला संघसंस्था र विज्ञहरु सम्मिलित बैठक बोलाउने र व्यक्तिगत सुरक्षा सामग्रीको गुणस्तर निर्धारणका विषयमा निर्णय लिने जानकारी काउन्सिललाई प्राप्त भएको समेत डा अधिकारीले बताएका छ्न् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्