चीनबाट ल्याउन लागिएको २ हजार कोरोना परिक्षण किट गुणस्तरहिन


 


काठमाडाैँ, चैत्र १५
‘निर्यातयोग्य’ नभएको भन्दै तिब्बत सरकारले नेपाल ल्याउन लागिएको कोरोना परिक्षण किट बीच बाटाेमै राेकेकाे छ। चीन सरकारले सहयोगस्वरुप दिने भनिएको कोरोना परीक्षणको दुई हजार किट गुणस्तरहिन रहेकाे तिब्बत सरकारकाे दाबी छ।

बेइजिङबाट छेन्दु हुादै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा शनिबार सडकमार्गबाट काठमाडौं पठाउने भनिएका किट छेन्दु र ल्हासामै अड्किएका छन् । ‘तिब्बतको स्वास्थ्य विभागले अहिले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरेको छ, यो जानकारी यहााको परराष्ट्र मन्त्रालयमार्फत् हामीले पनि शनिबार बिहान पाइसकेका छौं,’ महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले बताए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका दुई हजार व्यक्तिलाई परीक्षण गर्न पुग्ने किटसहितका स्वास्थ्य सहयोगी सामग्री चीनबाट ल्याउन रसुवा र तातोपानीका नाकाहरू हतारमै शुक्रबारबाट खुला गरिएको थियो । ‘बेइजिङबाट कुरियर कम्पनीले एउटा मात्रै किटको बक्सा छेन्दु ल्याइपुर्‍याएको रहेछ तर अहिले तिब्बत सरकारले यो स्वास्थ्य परीक्षणको किट निर्यात गर्न नमिल्ने भनेपछि हामीले यसमा थप सरोकार राखेका छैनौं,’ राईले भने ।

प्रवक्ता राईका अनुसार चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा अहिले पठाउन लागिएको किट उल्लेख नभएकाले पनि तिब्बत सरकारले यी सामग्री रोक्का गरेको जानकारी दिएको छ । चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्रजस्ता मुलुकमा चिनियाा सामग्री बहिष्कार गरिएको हालैको घटनाक्रमबारे काठमाडौंमा परराष्ट्र र स्वास्थ्य मन्त्रालय ‘बेखबर’ झैं देखिएका छन् ।

चीनबाट आउने यस्ता सामग्रीको गुणस्तर परीक्षण हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला अहिले आउन लागेका किटको गुणस्तरबारे नेपालकै चिकित्सकले पनि सार्वजनिक सन्जालमार्फत प्रश्न उठाएका छन् । अहिले ल्याउन लागिएको ‘कोरोना टेस्ट किट’ भने स्पेन वा चेक गणतन्त्रमा पठाइएको कम्पनीको नभएर बेइजिङ सर्मन बायोटेक्नोलोजीले उत्पादन गरेको ‘प्रमाणित’ सामग्री रहेको दाबी गरिएको थियो । ‘किटको गुणस्तर अथवा अरु पक्षबारे थाहा भएन तर निर्यातयोग्य नभएको भन्ने जानकारीका आधारमा यो सामग्री तत्काल नेपाल जान नसक्ने खबर हामीले परराष्ट्र मन्त्रालयमा गरिसकेका छौं,’ प्रवक्ता राईले भने । छेन्दु विमानस्थलसम्म मात्रै आएको किटको एउटै बक्सा पनि आफूले हेर्न नपाएको र तस्बिरमा मात्रै यी सामानबारे जानकारी पाएको उनले बताए ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्