यी हुन् ससांरका १० खतरनाक भाइरस


 


संसारमा लगभग तीन लाख २० हजार किसिमका भाइरस छन् । यिनीहरूले स्तनधारी जीवलाई संक्रमित बनाउँछन् । तीमध्ये सबभन्दा खतरनाक भाइरसले हरेक वर्ष संसारभरि लगभग डेढ करोड मानिसको ज्यान लिन्छन् । कोरोनाभाइरसभन्दा पहिले यी भाइरसले आतंक मच्चाएका थिए ।

रोटाभाइरस
रोटाभाइरसलाई बालबालिका मार्ने भाइरस पनि भनिन्छ । यसले संसारभरि हरेक वर्ष लगभग पाँच लाख बच्चाको ज्यान लिन्छ । नवजात शिशुदेखि आठ वर्षसम्मका बच्चामा यसले घातक डायरिया फैलाउँछ । कतिपय केसमा बच्चाहरूको ज्यानै जान्छ ।

बिफर
अन्य भाइरसको तुलनामा बिफरले सबभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसले ३० देखि ५० करोड मानिस मारिसकेको विश्वास गरिन्छ । यस भाइरसको रिप्रोडक्सन नम्बर साढे तीनदेखि ६ को बीचमा हुन्छ । अर्थात् यस भाइरसबाट संक्रमित एक व्यक्तिले तीनदेखि ६ जनासम्मलाई संक्रमित बनाउँछ । यसको मृत्युदर ९० प्रतिशत छ । अहिले यसलाई संसारबाट निर्मूल पारिएको छ ।

दादुरा
विगत १५० वर्षमा दादुराले २० करोड मानिसको ज्यान लिइसकेको छ । पुराना रेकर्डहरू हेर्दा यसले प्रत्येक वर्ष लगभग दुई लाख मानिसको ज्यान लिन्थ्यो । तर खोपमार्फत अहिले यस भाइरसलाई नियन्त्रणमा लिइएको छ । यस भाइरसबाट संक्रमित एक व्यक्तिले १२ देखि १८ जनालाई संक्रमित बनाउन सक्छ ।

डेंगु
डेंगु भाइरस लामखुट्टेले टोकेर फैलाउँछ । संसारका ११० देशमा यो भाइरस पाइन्छ र हरेक वर्ष लगभग १० करोड मानिसलाई संक्रमित तुल्याउँछ । तीमध्ये लगभग २० हजारजनाको मृत्यु हुन्छ । एकचोटि निको भएर फेरि यो भाइरस लागेका मानिस निकै गम्भीर स्थितिमा पुग्छन् ।

पीतज्वर
पीतज्वर चर्केको मानिसको नाक, आँखा, मुख र पेटबाट रगत आउन थाल्छ । यस स्थितिमा पुग्ने रोगीमध्ये लगभग ५० प्रतिशत मानिस सातदेखि १० दिनमै ज्यान गुमाउन पुग्छन् । अहिले पनि हरेक वर्ष पीतज्वरले लगभग दुई लाख मानिसलाई संक्रमित गराउँछ र लगभग ३० हजारको ज्यान लिन्छ ।

फ्लु
फ्लुका कारण संसारभरि हरेक वर्ष लगभग पाँच लाख मानिसको ज्यान जान्छ । सबभन्दा खतरनाक फ्लु महामारी स्पेनिस फ्लु हो । त्यसले पाँचदेखि १० करोड मानिसको ज्यान लिएको बताइन्छ ।

रेबीज
रेबीज धेरै समयअघिदेखि नै खतरनाक रोग मानिँदै आएको छ । रेबीज कुकुरले टोक्दा अनि चमेरोले टोक्दा समेत हुन सक्छ । यस रोगबाट संसारभरि हरेक वर्ष ६० हजार मानिसको ज्यान जान्छ । तीमध्ये धेरैजसो मृत्यु अफ्रिका र दक्षिण एसियामा हुन्छन् ।

हेपाटाइटिस बी र सी
हेपाटाइटिस बीले हरेक वर्ष लगभग सात लाख मानिसको ज्यान लिन्छ । यसले सबभनदा पहिला कलेजोमा आक्रमण गर्छ जसले गर्दा कलेजोको क्यान्सर वा कलेजोमा क्षति हुन सक्छ । यो रोग लागेपछि कलेजो स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र उपचारपछि पनि ठीक हुँदैन । हेपाटाइटिस सीका कारण संसारभरि हरेक वर्ष लगभग साढे तीन लाख मानिसको ज्यान जान्छ ।

इबोला र मारबर्ग भाइरस
यी दुवै भाइरसको स्पष्ट उपचार वा खोप विकसित भइसकेको छैन त्यसैले यिनीहरू सबभन्दा खतरनाक मानिन्छन् । यिनीहरूले ल्याउने मृत्युदर ९० प्रतिशतसम्म हुन्छ । दुवै भाइरसको लक्षण एकैखाले हुन्छ । यसबाट संक्रमित भएका मानिसलाई चर्को ज्वरो आउँछ, शरीरमा आन्तरिक रक्तश्राव हुन्छ अनि अंग नै चल्न छोड्छ ।

एचआईभी एड्स
विज्ञहरूका अनुसार, अहिले संसारभरि लगभग चार करोड मानिस एचआईभी एड्सबाट पीडित छन् । विगत ३० वर्षदेखि हरेक वर्ष लगभग २० लाख मानिस यस रोगका कारण मर्ने गरेका छन् । अहिलेसम्म लगभग साढे दुई करोड मानिस यस रोगका कारण मरिसकेको बताइन्छ । एजेन्सी

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्