भोलिदेखि विराटनगरमा पनि कोरोना परीक्षण


 


विराटनगर, चैत २७

प्रदेश १ सरकारको निरन्तरको पहलको परिणामस्वरुप अब विराटनगरबाट पनि कोरोना परीक्षण हुने भएको छ । सम्भवतः भोलिदेखि परीक्षण सुरु हुने प्रदेश सरकारले जनाएको छ ।

कोसी अस्पतालमा शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न ल्याब र उपकरणको समेत व्यवस्था भएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार आवश्यक उपकरण र केमिकल चार्टर हेलिकप्टरमार्फत विराटनगर आइपुगेको छ । उनका अनुसार भोलिदेखि नै परीक्षण सुरु गर्ने तयारी छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दैनिक २० जनासम्म नमुना परीक्षण भइरहेको घिमिरेले बताए । अब प्रदेशका सबै १४ जिल्लाबाट नमुना संकलन गरेर ल्याई धरान र विराटनगरमा परीक्षण हुनेछ ।

वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस तथा कोरोना परीक्षण विज्ञ समूहका बलराम गौतमले अब प्रदेश १ मा पनि परीक्षणको दर बढ्ने सुनाए । प्रदेश १ का क्वारेन्टाइनबाट ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गरिने भएको छ । भोलिबाट झापाको मेचीनगर र भद्रपुरमा सेनाको क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी सुरु हुने उनले बताए ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्