वसुन्धराश्री पुरस्कार डा गौतमलाई


 


काठमाडौं, बैशाख ६

वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ ।
पुरस्कार राशि रु ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीले जानकारी दिनुभयो ।

आज बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गर्नुभएका डा गौतमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै वरिष्ठ साहित्यकार सरुभक्तलाई २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । पुरस्कारको साथमा नगद रु ५० हजार र सम्मानपत्र रहेको छ । आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाइ नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सरुभक्तले नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचान बनाउनुभएको छ ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, उपन्यासकार दौलतविक्रम विष्ट, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायत सम्मानित भइसक्नुभएको प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्