यस्तो भनिएको छ प्रधान्मन्त्री दाहालको शुभकामना सन्देशमा


 


Prachanda-Chairman-of-Maoist-Center

काठमाडौँ, असोज २४
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमी, तिहार, नेपाल सम्वत, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै प्रधामन्त्री दाहालको सन्देशमा भनिएको छ – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीे दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको भन्दै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको आफ्नो कार्यभार रहेको बताएका छन् ।

नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ, दाहालको सन्देशमा भनिएको छ – राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको भन्दै सन्देशमा हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नैपर्ने बताएका छन् ।

यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमुखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ, प्रधानमन्त्री दाहालको सन्देशमा भनिएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्