निजामती कर्मचारीको बीमा सरकारले गरिदिने


 



काठमाडौं, मंसिर २२
सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा गर्ने तयारी अघि बढाएको छ ।

निजामती कर्मचारीलाई जीवनमा आउन सक्ने विभिन्न प्रकारका जोखिमको न्यूनीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बीमाको तयारी अघि बढाएको हो ।

कर्मचारी कल्याणका विषयमा थप व्यवस्था गर्न बीमा गर्ने तयारीको गृहकार्य भइरहेको छ– मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भन्नुभयो । प्रवक्ता अधिकारीका अनुसार कर्मचारीमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र जोखिम हस्तान्तरण गर्न बीमा महत्वपूर्ण हुनेछ । यसले ढुक्कका साथ कार्यक्षेत्रमा खटिन सहयोग पुर्याउने छ ।’ उहाँले भन्नुभयो ।

कर्मचारीहरूमा कामप्रति उत्प्रेरित भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने देखिएकाले सबै निजामती कर्मचारीको बीमा गर्नुपर्ने विषय अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै निजामती कर्मचारीको बीमा गर्दा लाग्ने लागतको अनुमानबारे पनि विभिन्न सरोकारवाला निकाय र संस्थाहरूसँग छलफल अगाडि बढाएको छ ।

मन्त्रालयले बीमाको प्रिमियम भुक्तानी योगदानमा आधारित बनाउने र बीमाका स्वरूप र कर्मचारी कल्याणसम्बन्धी विषयमा अर्थ मन्त्रालय, बीमा समिति, राष्ट्रिय बीमा संस्थान तथा राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोषसँग छलफल अगाडि बढाएको छ ।

मन्त्रालयले ल्याउन लागेको बीमा योजनाअन्तर्गत दुर्घटना बीमा, जोखिम बीमा, सेवाको प्रकृतिअनुसार, स्वास्थ्य बीमा, कडा रोगसमेत, औषधोपचार बीमा, एकाघरका परिवारको लागिसमेत वार्षिक ५० हजारदेखि एक लाखसम्मको औषधोपचार खर्च शोधभर्ना लगायतका विषय रहेका छन् ।

राष्ट्रिय किताब खानाको विवरणअनुसार हाल नेपालमा निजामती सेवामा कार्यरत जनशक्ति समायोजनअघि करिब ८८ हजार रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्