इलाम डुंगा दुर्घटना : मृतककाे संख्या ७ पुग्याे


 


ilam-dunga-accidentइलाम, असाेज २९

इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको शिवगञ्जमा फेला परेको हो ।

फेला परेका पुरुषमा झापा शनिअर्जुन नगरपालिकाका कृष्णकुमार घतानी छन् । महिलाको भने सनाखत भएको छैन। अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

शुक्रबार दिउँसो दानाबारीबाट महमाई जाँदै गर्दा लोदिया दोभनमा डुंगा दुर्घटना भएको थियो। बेलुकासम्ममा ५ जनाको शव फेला परेको थियो। मृतकहरुमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल र मधुमल्लाकी ६ वर्षीया पुष्पा खड्काको मात्र पहिचान खुलेको छ।

हिजै ३४ जनाको उद्धार गरिएको थियो। दसैंको टीका लगाउन जाने-आउने तथा स्थानीय शुक्रबारे बजार भरेर फर्केका यात्रु चढेको डुंगा दुर्घटना भएको हो। डुंगामा करिब ५० जना यात्रु थिए। हराएका अरुको खोजीका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीयवासी जुटेका छन्।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्