यी हुन् नेपाली बजारका चर्चित ५ मोटरसाइकल


 



काठमाडौं
नेपाली अटो बजारमा मोटरसाइकल सर्बाधिक रुचाइएको सवारीसाधन हो । गाडीको तुलनामा सस्तो, सजिलो र भरपर्दो साधनको पहिचान बनाएको मोटरसाइकल अधिकांश नेपालीहरुका लागि अत्यावश्यक साधनजस्तै बनेको छ ।

सार्वजनिक यातायात प्रभावकारी नभएका कारण पनि नेपालमा मोटरसाइकल प्रयोग गर्नु बाध्यता जस्तै बनेको छ । निम्नमध्यम आय भएका नेपालीहरुले सहजै खरिद गर्न सक्ने भएका कारण पनि पछल्लो समय मोटरसाइकलको माग बढिरहेको छ । त्यसमाथि झन् कोभीड १९ का कारण सार्वजनिक यातायातमा यात्रा गर्दा असुरक्षित हुने कारण पनि यसले सुरक्षित साधनको पहिचान बनाएको छ ।

नेपालमा वार्षिक ३ लाख हाराहारीमा नयाँ मोटरसाइकल तथा स्कुटर आयात हुने गरेको देखिन्छ । जसमध्ये ठूलो हिस्सा मोटरसाइकलको छ भने पछिल्लो समय स्कुटरको हिस्सा बढ्दै गएको छ । हाल बजारमा २ दर्जन हाराहारीमा मोटरसाइकलका ब्रान्ड उपलब्ध भएपनि ती सबैको लोकप्रियता भने समान रहेको पाइदैन ।

बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो र रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलहरु बढी लोकप्रिय मानिन्छन् । यी ब्रान्डमा पनि सीमित मोडल सर्बाधिक सफल मानिन्छन् । हाल नेपाली बजारमा सर्बाधिक लोकप्रिय मोटरसाइकल यस प्रकार रहेका छन् ।

बजाज पल्सर
बजाज पल्सर नेपालमा सर्बाधिक बिक्री हुने मोडल हो । पल्सरको १२५ देखि २२० सीसी सम्मका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये पल्सर १५० र २२० मोडल सर्बाधिक लोकप्रिय मानिन्छ । यी बाइकको बिक्रीसमेत सेग्मेन्टकै धेरै छ । बजाजको ५० प्रतिशत भन्दा बढी बिक्री यी दुई मोडलले ओगट्ने कम्पनी स्रोतले बताएको छ । पावरफुल इन्जिन, स्पोर्टी लुक्स र आकर्षक डिजाइनका कारण पल्सर सर्बाधिक लोकप्रिय बन्न सफल भएको हो ।

टीभीएस अपाचे
१५० र २०० सीसी सेग्मेन्टमा टीभीएस अपाचे समेत निकै लोकप्रिय मोडलका मोटरसाइकल हुन् । यी बाइकमा पछिल्लो समयमा युवाहरुको आकर्षण बढ्न थालेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल बलियो तथा मजबुत इन्जिन र आकर्षक फिचर्सका कारण लोकप्रिय मानिन्छन् । अपाचे आरटीआर १६० र २०० मोडलको बिक्री उत्साहप्रद रहेको आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले बताएको छ ।

यामाहा एफजी
स्पोर्टी नेकेड लुक्सको यामाहा एफजी युवामाझ लोकप्रिय मोटरसाइकल हो । उच्चतम पावर तथा टर्कका कारण पनि यामाहा मोटरसाइकलमा राइडरहरु आकर्षित भइरहेका छन् । नेपाली बजारमा यामाहा एफजी २५, एफजीएस एफआई भी ३ एबीएस र एफजी एफआई भीटु मोडलका मोटरसाइकल उपलव्ध छन् ।

हिरो स्प्लेन्डर
हिरो स्प्लेन्डर सदावहार सफल र लोकप्रिय मोडलको मोटरसाइकल हो । कम सीसी इन्जिन क्षमतामा एकछत्र जस्तै बजार लिन सफल हिरोको स्प्लेन्डर र सुपर स्प्लेन्डर मोडल विशेषगरी प्रौढ समुहका राइडरमाझ लोकप्रिय मानिन्छ । उच्चतम माइलेज र कम मर्मत सम्भार खर्च नै यो मोटरसाइकलको प्रमुख विशेषता हो । त्यसमाथि यो मोटरसाइकलको मूल्य समेत अन्य प्रतिस्पर्धी ब्रान्डका मोटरसाइकलको तुलनामा सस्तो समेत छ । यी मोटरसाइकलको बजार पछिल्लो समय नेपालको तराई भेगमा अत्यधिक विस्तार भइरहेको बताइएको छ ।

रोयल इन्फिल्ड क्लासिक
क्रुजर सेग्मेन्टमा एकछत्र बजार ओगट्न सफल रोयल इन्फिल्डको बजार हरेक वर्ष विस्तार भइरहेको छ । अफरोड र अनरोड दुबै सडकका लागि उपयुक्त रोयल इन्फिल्डका आधादर्जन मोडल नेपाली बजारमा उपलव्ध छन् । जसमध्ये किफायती मूल्यका कारण क्लासिक ३५० मोडल सर्बाधिक लोकप्रिय मानिन्छ । रोयल इन्फिल्डको कुल बिक्रीमध्ये ५० प्रतिशत बढी हिस्सा क्लासिक एक्लैले ओगट्ने बताइएको छ । नेपाल अटो

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्