दाहाल र सीको भेटमा अचानक मोदी किन प्रवेश गरे ?


 


puspakamal-modi-xi-gipiningकाठमाडाैं, असाेज ३०

भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके । त्यसको केही क्षणपछि होटेलको आफ्नो कोठानजिकै रहेको अर्को एक वेटिङ रुममा प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल र पत्नी सीतासँग बसिरहेका थिए ।

अचानक चिनियाँ राष्ट्रपति सी त्यहाँ आइपुगे । दाहाल छक्क परे । उनले सोच्दै सोचेका थिएनन्, यसरी चिनियाँ राष्ट्रपतिसँग एकल वार्ता हुनेछ । दाहालले चिनियाँ राष्ट्रपति सीसँग एक्लै १५ मिनेट वार्ता गरे ।

वार्तामा सीले आफू नेपाल आउन अति इच्छुक रहेको बताए । ‘म तपाईंको मुलुक आउन चाहन्छु । चाँडै आउँछुु, उनले भने । दाहालले आफू स्वागत गर्न आतुर रहेको बताए ।

दाहाल र सी जिनपिङबीच ‘वेटिङु रुममा कुरा भइरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टुप्लुक्क आइपुगे । दाहाल खुसीले गदगद भए । दाहालले मोदीसँग पनि एकल वार्ता गर्न भ्याए ।

त्यसपछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट संयुक्त कुराकानी भयो । वार्तामा मोदीले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए ।

दाहालले पनि भारतसँग सम्बन्ध सुदृढ गर्न चाहेको बताए । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री दाहाल बीचमा बसे । दाहालले दुवै नेतासामु भने, ‘नेपाल चीन र भारतको बीचमा रहेको आकारले सानो मुलुक भए पनि यहाँहरूका लागि महत्वको मुलुक हौं भन्ने विश्वास छ । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।’

नेपाल गौतम बुद्ध जन्मेको देश र भगवान् पशुपतिनाथको देश भएकाले चीन र भारतका लागि यसको महत्व रहेको भन्दै दाहालले सी र मोदीसँग यस क्षेत्रको विकासका लागि तीनै देशले मिलेर काम गर्नुपर्ने बताए । दाहालले दुवै नेतासामु भने, ‘नेपाल सानो भए पनि यहाँहरुका लागि महत्वको मुलुक हो ।

प्रधानमन्त्री दाहाल, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको यो भेट नितान्त संयोग रहेको र अनौपचारिक रहेको त्यहाँ उपस्थित दाहालका स्वकीय सचिव एवं पुत्र प्रकाशले टेलिफोनमा बताए । दाहाल, सी र मोदीबीच २० मिनेट कुराकानी भएको थियो ।

दाहाल, सी र मोदीबीच कुराकानी अन्तिम हुन लाग्दा ब्राजिलका राष्ट्रपति माइकल टेमर र दक्षिणअफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा पनि टुप्लुक्क आइपुगे । उनीहरूसँग पनि दाहालले अनौपचारिक रूपमा कुराकानी गर्दै अभिवादन गर्ने अवसर पाए ।

दाहालले गरेका यी अनौपचारिक भेटबारे परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत सहभागी नेपाली टोलीले भने निकै बेरपछि मात्रै थाहा पाएको थियो । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग भएको अनौपचारिक भेटमा तीनै देशका हितबारे कुराकानी हुनुलाई दाहालले मीठो संयोगका रूपमा लिएको उनका पुत्र प्रकाशले बताए । उनले यो बैठक योजनाबद्ध नरहेको बताए ।

दाहालले भेट्नुअघि सी र भारतीय प्रधानमन्त्री मोदीबीच सरकारी अधिकारीहरूसहित वार्ता भएको अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्