प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, पार्टीको परिचयपत्र र नागरिकता अनिवार्य


 


काठमाडौं, फागुन १९
नेकपा (प्रचण्ड-नेपाल समूह)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल समूहले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड(नेपाल समूहले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आफ्नो पक्षको निर्णयको आधिकारिकता खोज्दै निर्वाचन आयोग पुगेको प्रचण्ड(नेपाल समूहले आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने बताउँदै आएको छ ।

नेकपाले यसअघि गएको पुस ५ गते संसद सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्