ओलीले बोलाए संसदीय दल र केन्द्रीय कमिटी बैठक, खनाल-नेपाल पक्ष के गर्छ ?


 



काठमाडौं, चैत ७
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीको संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान १० बजे संसदीय दल र दिउँसो केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

तर दुबै बैठकमा खनाल(नेपाल समूह सहभागी नहुने भएको छ। हिजो शुक्रबार बानेश्वरमा बसेको एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल तथा झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय वा संसद् भवनमा बस्ने गरेकामा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न लागिएको नेपाल–खनाल पक्षको आरोप छ।

साथै सो समूहले फागुन २८ गते भेला गरी विधान उल्लंघन गरिएको भन्दै उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा पनि बस्न नसक्ने जनाएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि पुनर्स्थापित एमालेभित्र रडाको मच्चिएको हो।

प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्