सत्ता समीकरणबारे धारणा प्रष्ट पार्ने काँग्रेसको तयारी, बोलाइयो पदाधिकारी बैठक


 



काठमाडौं, फागुन ९
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सत्ता समीकरणबारे छलफल गर्दैछ । छलफलका लागि
आज सभापति शेरबहादुर देउवाले वर्तमान तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।  

अहिलेको समसामयिक राजनीतिक विषय र पार्टीको महाधिवेशनको विषयमा छलफलका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकबाट नयाँ सत्ता समीकरणका लागि के कस्ता पहल गर्ने भन्ने विषयमा कांग्रेसले आफ्नो धारणा प्रष्ट पार्ने तयारी गरेको छ । 

यसअघि, पदाधिकारी बैठक अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय पदाधिकारीहरूसँग हिजै बोहराटारमा छलफल गरेका छन् । बैठकमा राख्नका लागि आफ्नो पक्षको रणनीति बनाउन छलफल गरिएको नेताहरुले बताएका थिए । 

पौडेल निवासमा भएको छलफलमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाल पनि सहभागी थिए । 

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्