मेलम्चीको पानी : आधा शताब्दी पुरानो सपना पूरा



काठमाडौं, चैत्र १६
आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको छ ।

आइतबार चाबहिलको महाँकालचौरस्थित वितरण केन्द्रबाट सिफलदेखि त्रिपुरेश्वर र क्षेत्रपाटीसम्म पानी वितरण भएको छ । काठमाडौं उपत्यकामा खानेपानी समस्या हुन थालेपछि आजभन्दा ५० वर्षअघि नै विकल्पको खोजी सुरु भएको थियो ।

पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सन् १९७२ अर्थात् ०२९ मा नै विश्व बैंकको सहयोगमा अध्ययन गरिएको थियो । यही क्रममा ०४१ मा परामर्शदाता कम्पनी ‘बिन्नी एन्ड पार्टनर्स’ले विभिन्न २२ उपाय सुझाएको थियो । त्यसमध्ये प्राथमिकताको पहिलो सूचीमा थियो– मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक ५१ करोड लिटर पानी ल्याउने । 

तर, त्यसपछि करिब एक दशक यस विषयमा कुनै प्रगति भएन । राजनीतिक भाषणमा वेलावेला चर्चा भए पनि ठोस पहल भएन । यो परियोजनाका लागि पुँजी जुटाउने योजनासहित ०५३ मा मेलम्ची खानेपानी लिमिटेड स्थापना भयो ।

लागत धेरै हुने भएकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन एडिबी, जाइका, ओपेक, नर्वे र स्विडेनलगायतका दातासँग प्रस्ताव गरिएको थियो । उनीहरूबाट सकारात्मक जवाफ पनि आएको थियो । त्यसैले पहिले निजी क्षेत्रबाट पनि पुँजी जुटाउने भनेर लिमिटेड गठन भएकोमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग जुटाउन ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो । 

समितिको पहल, नर्वे सरकारको आर्थिक अनुदान तथा एडिबीको इन्जिनियरिङ सहायतामा सम्भाव्यता र डिजाइनका काम सुरु भए । यो वस्तुगत अध्ययनबाट थाहा भयो– मेलम्ची खोलाबाट मात्र दैनिक १७ करोड लिटर पानी ल्याउन सकिन्छ । तर, फेरि आयोजना निर्माण सुरु हुन नै करिब एक दशक लाग्यो । निर्माण सुरु भएपछि पनि पानी आउन फेरि १२ वर्ष लाग्यो । 

खासमा ०५५ मा मेलम्ची निर्माणको पहल सुरु भएयता २२ वर्षमा देशले १९ प्रधानमन्त्री र २५ मन्त्री पाएको छ । अझ आयोजना प्रमुख त २९ पटक फेरिएका छन् । बल्ल राजधानीको धारामा मेलम्चीको पानी आएको छ । 

त्यसो यो २२ वर्षमा हरेकपटक चुनावी मुद्दा बनेको छ मेलम्चीको खानेपानी । तर, पहिलोपटक सार्वजनिक बहसमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ल्याएका हुन् । खासमा ०५० को उपनिर्वाचनमा उनले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरेका थिए । 

समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु गर्ने तयारी भएको थियो । सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्तका विषयमा विवाद हुँदा काम नै सुरु हुन सकेन ।

सरकारले ऋण सर्त पालना गर्ने निश्चित भएपछि ०६४ मा निर्माण सुरु भएको हो । एडिबीले ०७० सम्म काठमाडौंमा खानेपानी आइपुग्नुपर्ने लक्ष्य दिएको थियो । ठेक्काको सर्त पनि त्यही थियो । 

२७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ०६४ मै ग्लोबल टेन्डर आह्वान गरियो । चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन ९सिआरसी० नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो । तर, तीन वर्षमा जम्मा १५ प्रतिशत मात्रै काम गर्‍यो । एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडिएको हो । 

०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने थियो, तर भूकम्प र नाकाबन्दीका कारण परियोजना प्रभावित भयो । तसर्थ सिएमसीको म्याद थप भइरह्यो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो ।

काम अब १० प्रतिशतभन्दा पनि कम बाँकी छ भनिएको थियो । तर, इटालीमा नै चरम आर्थिक संकटमा परेको कम्पनीका प्रतिनिधि २९ मंसिर ०७५ मा काम छाडेर हिँडे । २४ माघ ०७५ मा ठेक्का सम्झौता रद्द भयो ।

मेलम्चीमा खर्च भएको रकम एडिबी, नेपाल सरकार र जापान सरकारको हो । आयोजना निर्माण सुरु हुँदा ४६।४ करोड अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको थियो । यो लागतमा विद्युतसमेत निकाल्ने योजना थियो । तर, विद्युत् निकाल्ने योजना कार्यान्वयन नभएपछि लागत रकम ३१।७ करोड अमेरिकी डलरमा झर्‍यो ।

०६४ मा आयोजनालाई दुई भागमा बाँडियो । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्ने र आयोजना २ ले पाइपलाइनलगायतका काम हेर्ने तय गरियो । आयोजनाको समयावधि बढेसँगै अहिले मुख्य कामको लागत बढेर ३१।२ करोड अमेरिकी डलरभन्दा बढी पुगेको समितिले जनाएको छ । 

यो आयोजनामा सबैभन्दा ठूलो लगानी एडिबीको छ । एडिबीले ४६।७२ प्रतिशत अर्थात् १४ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । हेडवक्र्स, सुरुङ तथा पानी प्रशोधन केन्द्र भाग १ मा एडिबीको लगानी छ । त्यस्तै ३०.३६ प्रतिशत अर्थात् नौ अर्ब ५० करोड रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।

जाइकाले १५।१८, ओपेकले ४।३८ र नर्डिक सहायता कोषले ३।३६ प्रतिशत लगानी गरेका छन् । यसरी जाइकाको चार अर्ब ७५ करोड, ओपेकको एक अर्ब ३७ करोड र नर्डिकको एक अर्ब पाँच करोड रुपैयाँ लगानी भएको छ । 

मेलम्ची आयोजनाका नाममा गत वर्षसम्म २७ अर्ब ६५ करोड खर्च भइसकेको थियो । आयोजनाका मुख्य सात शीर्षकमध्ये १९ अर्ब १३ करोड रुपैयाँ निर्माण कार्यमा खर्च भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News