एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना, के भन्छन् महन्थ ?


 



काठमाडौं, चैत्र १८
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ ।

जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताए । ‘प्रचण्डजीहरू आइज आइज भन्नुहुन्छ, केही गर्नुहुन्न, न कि पहिला पनि प्रचण्ड सबै माग पूरा गर्छु भन्नुहुन्थ्यो । तर सत्ता हुँदा पनि केही गर्नुभएन’, अध्यक्ष ठाकुरले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा भने, ‘ओली त जति गर्न सक्छु गर्छु भन्नुहुन्छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरामा विश्वास गर्ने आधार नभएको बताए ।

उनले खाली चेकमा सम्झौता नगर्ने बताए । जेलमा रहेका आफ्ना नेता  कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान सशोधनलगायत माग पूरा नभएसम्म सरकारको विषयमा छलफल नै नहुने उनको भनाइ थियो । ‘सांसद जेलमा छन् । मन्त्रीलाई मुद्दा लागेको छ’, ठाकुरले  भने, ‘हाम्रो हातखुट्टा बाँधिएको छ । यो फुकुवा भएपछि मात्रै हामी सत्तामा जाने कुरा आउँछ ।’

उनले प्रधानमन्त्रीका तर्फबाट सकारात्मक कदम चालिएकोमा धन्यवाद दिए । उनले सबै दलसँग संवाद भने भइरहेको बताए । कांग्रेस, माओवादी केन्द्रसँग कसरी अगाडि बढ्ने भन्ने खाका नरहेको उनले सुनाए । ‘उहाँहरू हाम्रो मागको विषयमा गरुला गरुला भन्नुहुन्छ तर कहिले गर्छौ भन्ने आउँदैन’, उनले भने ।

प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना । २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ । जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ ।

एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा। बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे पनि एमाले र जसपाको गठनबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्