ओली पुनः प्रधानमन्त्री नियक्त, मन्त्रिपरिषदमा नेपाल र महन्थ समूह सहभागी होलान् ?


 



काठमाडौं, वैशाख ३१
केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्ति भएका छन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका हुन् । ्

गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन्।

तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका थिए ।

पुनः प्रधानमन्त्रीमा नियुक्त भएसंगै ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने कार्यक्रम तय भएको छ ।

ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे्का छन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्