जसपा माग सम्बोधन नभएसम्म सरकारमा नजाने, प्रस्ताव अस्वीकार


 



काठमाडौं, वैशाख ३१
जनता समाजवादीको महन्थ ठाकुर समूह तत्काल सरकारमा नजाने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सहभागी हुन गरेको प्रस्ताव अस्वीकार गर्दै जसपाले सरकारमा नजाने जनाएको हो । जसपाले अझै केही दिन निर्णयका लागि समय लगाउने बताएको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई ‌ओलीले बिहीबार दुई पटकसम्म बालुवाटारमा बोलाएर सरकारबारे छलफल गरेका थिए। तर दुवै नेताहरुले आफूहरुका माग पनि सम्बोधन हुँदै गएकाले उपयुक्त समयमा निर्णय लिएर सरकारमा आउने जवाफ दिएका छन्।

ठाकुर–महतोले मधेस आन्दोलनका क्रममा परेका मुद्दा फिर्ता, संविधान संशोधनका लागि मस्यौदा समिति, टीकापुर हत्याकाण्डमा जेलमा रहेका रेशम चौधरीबारे ठोस निर्णय, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत कुरा सम्बोधन हुनुपर्ने मत राख्दै आएका छन्।

आफूहरुका एजेण्डा सम्बोधन नभसम्म सरकारमा नजाने भन्दै ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीले केही मन्त्रीको नाम पनि मागेर आजै सपथ ग्रहण गराउने भन्‍नुभएको थियो तर हामी तत्काल सरकारमा जाँदैनौं।’

जसपाले अहिले बनेको ओलीको अल्पमतको सरकारलाई संसदबाट विश्वासको मत लिने क्रममा समर्थन गरेर सरकारमा जाने रणनीति बनाएको छ। त्यसबेलासम्म ओलीले आफ्ना केही माग पूरा गरिसक्ने मत उनीहरुको छ।

जसपामा ठाकुर र महतो यसअघि ओलीकै पक्षमा थिए। वैशाख २७ मा ओलीले विश्वासको मत लिन नसकेपछि जसपाको उपेन्द्र यादव, माओवादी केन्द्र र कांग्रेसले नयाँ सरकार गठन थाल्न राष्ट्रपतिलाई भनेका थिए।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्