साउदीमा ६२ जना नेपाली अलपत्र


 


साउदी अरब, कार्तिक १०

साउदी अरवमा ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदी अरबको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका हुन् । अलपत्र परेका यी कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको बुझिएकाे छ ।

रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए ।

कम्पनीले स्वदेश फिर्ने भए प्रति कामदार २५ सय रियाल (झन्डै ७५ हजार रुपैया) माग गरेको छ । ‘नेपालबाटै आउदा एकलाखसम्म तिरेर आयौ । आएदेखि एक रियाल कमाउन पाएको छैन’, पीडितले भने,‘हामीले काम गरेपछि तलब कटाऊ भन्दा पनि मानेको छैन ।’
उनीहरु गत जेठको अन्तिम साता साउदी पुगेका थिए ।

त्यतिखेर कम्पनीले प्रति कामदार दुई सय रियाल मात्रै दिएको थियो । त्यस यता उनीहरुले पैसा पाएको छैन । ‘अहिले एउटा पसलमा खाता खोलिदिएको छ । त्यहाँबाट नै खाना ल्याउदै खाइरहेका छौं’, उनीहरुले भने,‘हाम्रो मालिक सार्‍है हरामी छ । केही बोल्यो कि पिटिहाल्छ । सबै डराएर बसिरहेका छौं । बोल्ने साथीहरुलाई अन्त्यै लिएर गए पछि हामी अभिभाबक बिहिन जस्तो भएका छौं ।’

दुताबासले ती कामदार दुताबासबाट फर्केपछि सम्र्पकमा नआएकोले थप जानकारी नभएको जनाएको छ । पीडित कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । ‘कम्पनीले काम दिने आश्वासन त देखाएको छ । दिए त राम्रै हुन्थ्यो । हामी कमाउन आएका हौं । यसरी नै बिचल्ली बनाइराख्यो भने हाम्रो अबस्था झन खरब हुन्छ’, पीडितहरुले भने ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्