लामो दूरीको यातायात भाडा २८ प्रतिशत बढ्यो


 


काठमाडौं, असार ३१
यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ ।

दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले यात्रुवाहक सार्वजनिक यातायातसहित मालवाहक सवारीको भाडा वृद्धि गर्ने निर्णय गरिएको बताए । उनका अनुसार यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतसम्म र तराईंका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ एवं पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको छ ।

‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो ।

यातायात व्यवसायीहरूले लामो समयदेखि सार्वजनिक यातायातको भाडा वृद्धिको माग राख्दै सरोकारवाला निकायलाई दबाब दिइरहेका थिए । सोहीअनुसार विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते भाडा समायोजनसम्बन्धी अध्ययन समिति बनेको थियो ।

समितिले भाडा वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पठाएको थियो । प्रतिवेदनमाथि कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णयलाई स्वीकृत गरेको थियो ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्