बढ्दै छ बीमा कम्पनीविरुद्ध उजुरी


 


काठमाडौं, साउन २६
बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार गत आवमा समितिमा १३७ ओटा उजुरी (मुद्दां) दर्ता भएका छन् । अघिल्लो आव २०७६/७७ मा भने १२६ ओटा मुद्दा दर्ता भएको थियो । त्यसभन्दा पनि अघि अर्थात् आव २०७५/७६ मा १०० ओटा मुद्दा दर्ता भएको समितिको तथ्यांकमा उल्लेख छ ।

समितिलाई बीमासम्बन्धी मुद्दामा फैसला गर्न जिल्ला अदालतसरहको अधिकार छ । बीमा कम्पनीले दिने सेवामा चित्त नबुझेमा ग्राहकहरूले सीधै बीमा समितिमा उजुरी गर्न सक्छन् । बीमा समितिको फैसला चित्त नबुझेमा ग्राहकहरू पुनरवलोकनका लागि क्रमशः उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने व्यवस्था रहेको छ ।

समितिको उजुरी शाखाका एक उच्च अधिकारीले पछिल्लो समय बीमा कम्पनीहरू विरुद्ध पर्ने उजुरीको संख्या बढ्दै गएको बताए । यद्यपि, यसलाई सकारात्मक रूपमा पनि लिनुपर्ने उनको भनाइ छ ।

‘पहिला अधिकांश ग्राहकहरूलाई बीमा समिति छ भन्ने पनि थाहा थिएन । कम्पनीहरूको सेवा चित्त नबुझेमा कहाँ गएर उजुरी गर्ने भन्नेमा पनि उनीहरू जानकार थिएनन्,’ उनले भने, ‘तर, पछिल्लो समय यस विषयमा चेतना फैलिएको छ । बीमा समितिको कामकारबाहीको विषयमा पनि प्रचारप्रसार भएको छ । त्यसको असरले नै बीमा समितिमा पर्ने मुद्दाको संख्या बढ्दै गएको हो ।’, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्