एमसीसी अनुमोदनपछि अमेरिकी उच्च अधिकारीको भ्रमण बढ्यो


 


काठमाडौं, वैशाख ११
नेपालको संसद्बाट एमसीसी पास भएसँगै नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बढ्न थालेको छ ।

नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना एमसीसीअन्र्तगतको ५ सय मिलियन डलर अर्थात् ५० अर्ब रुपैयाँ अनुदान सम्झौता अनुमोदन गरेसँगै अमेरिकी अधिकारीको भ्रमण बाक्लिन थालेको छ ।

गत वैशाख पहिलो साता मात्रै अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । शुक्रबार मात्रै अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका छन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड ९न्युयोर्क०को नेतृत्वमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाडौं आएका हुन् ।

उक्त टोलीका एक सदस्य मार्क केली अमेरिकाको माथिल्लो सदन सिनेटका सदस्य मात्र नभएर नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । पोल्यान्ड र भारतलगायतका देशको लामो भ्रमणको सिलसिलामा अमेरिकी संसदीय टोली नेपाल आएको हो ।

यही साता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्दै छ । नेपालस्थित अमेरिकी दूतावासले यही साता (अप्रिल २५) अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन लागिएको जानकारी दिँदै दूतावासले संसदीय टोलीको भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्