नेपालमा रहेका भारु नोटको सम्बन्धकमा यस्तो छ भारतको संकेत


 


500_front

काठमाडौं, कात्तिक २८

एकजना नेपालीले आफूसँग भएको हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयाँ (भारु) सम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)  सो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्था मिलाउन भारतको वित्त मन्त्रालयलाई पत्राचार गरेको हो ।

नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म साट्न पाउने व्यवस्था मिलाइदिन आरबीआईलाई पत्राचार गरेको थियो ।

यस्तै राष्ट्र बैंकका अधिकारीले आरबीआईका अधिकारीहरूलाई टेलिफोन सम्पर्क गरेर पनि त्यस्तो व्यवस्थाका लागि आग्रह गरेका थिए ।

राष्ट्र बैंकको यस्तो औपचारिक र अनौपचारिक आग्रहलाई आरबीआईले सकारात्मक रूपमा लिएकाले सो परिमाणको भारु सटही हुनसक्ने राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय विभागका प्रमुख भीष्म ढुंगानाले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले हजार र ५ सय दरका २५ हजार भारुसम्मका नोट साट्न पाउने व्यवस्था मिलाई दिन आरबीआईलाई आग्रह गरेको थियो । राष्ट्र बैंकले यो पत्र अर्थ मन्त्रालयलाई पठाएको थियो भने अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत आरबीआईलाई पत्राचार गरेको थियो ।

आरबीआईले गत शुक्रबार नै यस्तो पत्र आफ्नो रायसहित भारतीय वित्त मन्त्रालयमा पठाएको थियो । आरबीआईले नेपालबाट गएको पत्रका साथ पठाएको रायमा नेपालले उठाएको विषय सान्दर्भिक र जायज भएकाले उचित व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरिएको बुझिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आरबीआईलाई पठाएको पत्रमा भारतको वैदेशिक मुद्रा व्यवस्थापन ऐन (फेमा) को व्यवस्थामा टेकेर २५ हजार भारुसम्मको हजार र ५ सय दरको नोट साट्न पाउनुपर्ने अडान राखेको छ ।

फेमाको ‘नोटिफिकेसन’मा भारतबाट नेपाल प्रवेश गर्दा एकजना नेपाली वा भारतीय नागरिकले हजार र ५ सय दरका २५ हजार भारुसम्म लान पाउने उल्लेख गरिएको छ ।

भारतको कानुनअनुसार नेपाल ल्याएको भारु साट्न पाउनुपर्ने अडान राष्ट्र बैंकले गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्