निर्मलाले सुनाइन् कविता


 


nirmala-sammanलन्डन, मंसिर १३

गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जनाहरू सुनाइन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को नवौँ संस्करणमा उनी प्रस्तुत भएकी हुन् ।

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) र विशेष अतिथि सेकेन्ड गोर्खा राइफलका गोर्खा मेजर गजेन्द्र आङदेम्वे थिए ।

नेपाल पत्रकार महासंघ, युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाली वाङमय प्रतिष्ठान, बेलायतका महासचिव जया राई, बिएफबिस गोर्खा रेडियो युकेका प्रतिनिधि र सेकेन्ड गोर्खा राइफल सनक्लिफ व्यारेकका उच्चपदस्थ सैनिक अधिकृतहरू अतिथिको रूपमा उपस्थित थिए ।

chok-bimochanकार्यक्रमकाे शुरूमा बेलायतका लागि नेपालका नवनियुक्त राजदूत डा.दुर्गाबहादुर सुवेदीलाई प्रतिष्ठानका संरक्षक रक्ष राई तथा अध्यक्ष दयाकृष्ण राईले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए ।

दुई चरणमा सञ्चालित कार्यक्रमकाे पहिलो चरणमा सङ्गीतकार चोक गुरूङको गीति एल्बम ‘साँचो’को बिमोचन गरिएको थियो । प्रमुख अतिथि सुवेदी र विशेष अतिथि आङदेम्वेद्धारा संयुक्त रूपमा एल्बमको विमोचन गरिएको थियो ।

विमोचित एल्बमको बारेमा स्रष्टा चोक गुरूङले प्रकाश पारेका थिए । साथै उक्त अवसरमा एल्बमको एक गीतको म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो ।

बहुप्रतिभाशाली गुरूङ गीतकार, सङ्गीतकार तथा गायक पनि हुन । उनका लोक तथा आधुनिकका ‘देशै रमाइलो’ लोकगीत, ‘दुखी जीवन’ लोकगीत, ‘अनुरोध’, ‘अप्रिल फोर’, ‘प्रकट’ एल्बम आइसकेका छन् । ‘साँचो’ पछिल्लो एल्बम हो । उनले ‘इलाम कोसेली भाग १’ लगायतमा अन्य एल्बमहरूमा आफ्नो सङ्गीत तथा स्वर दिएका छन् ।

दोस्रोे चरणको कार्यव्रmममा प्रमुख अतिथि र प्रतिष्ठानका अध्यक्षले निर्मला परिवेश राईलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गरेका थिए । ‘अभिव्यक्ति श्रृङ्खला’मा उनले आफ्ना दर्जन गीत, कविता तथा मुक्तक सुनाएकी थिइन् । उक्त अवसरमा उनका गीतहरूका म्युजिक भिडियो समेत देखायएको थियो ।

उनका ‘परिवेश’, ‘परिवेशका पाईलाहरू’ पुस्तक तथा ‘रोशनी’ र ‘रेनसा’ गीति एल्बम प्रकाशित छन् । उक्त अवसरमा गणेश राई, टंक वनेम, सञ्जीव पारदर्शी, जानुका राई, रक्ष राई, भूपेन्द्र घिमिरे, विश्वासदीप तिगेला, देवेन्द्र खेरेस लगायतका कविहरूले पनि आफ्ना कविता सुनाएका थिए ।

प्रतिष्ठानका महासचिव मिजास तेम्बे तथा कोषाध्यक्ष देवेन्द्र खेरेसले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष गणेश राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सन् २००७ बाट सुरू गरिएको ‘अभिव्यक्ति श्रृङ््खला’मा चोक गुरुङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरुङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा र रक्ष राई प्रस्तुत भइसकेका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्