भागीरथीलाई सम्मान, टीकालाई पुरस्कार


 


ukकाठमाडौँ, मंसिर १४

बेलायतको प्रतिष्ठित साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार नोभेम्बर २६ तारिकका दिन फोकस्टोनमा बसेको बैठकले वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठलाई ‘प्रतिभा सम्मान’ र युवा गीतकार टीका चाम्लिङलाई ‘प्रतिभा पुरस्कार’ दिने निर्णय गरेको हो ।

सम्मानमा दोसल्ला, ताम्रपत्र र नगद बीस हजार रहेको छ भने प्रमाणपत्रसहित पुरस्कारको राशि नगद १ लाख रहेको छ । वि.सं. २००५ असोज १२ गते गुल्मीमा जन्मिएकी भागीरथी श्रेष्ठका मालती, यस्तो एउटा आकाश उपन्यास, क्रमशः, मोहदंश, विभ्रम, भूमिगत रातो गुलाफ लगायतका कथा तथा मेरा बाआमा संस्मरण कृतिहरू प्रकाशित छन् ।

यसै गरी वि.सं. २०३० माघ ४ गते खोटाङको नुनथलामा जन्मिएका टीका चाम्लिङका मुन्धुम र मालिङ्गो, जूनको बस्ती, समयको रङ र सपनाको रङ गीतसङ्ग्रह प्रकाशित छन् । उनका दर्जनौँ गीत सङ्तीबद्ध छन् ।

पछिल्लो समय चाम्लिङ किरात राई जातिको संस्कार तथा संस्कृतिका क्षेत्रमा समेत क्रियाशील रहेका छन् ।

प्रतिष्ठानबाट यसअघि ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया र प्रद्युम्न श्रेष्ठ (सिक्किम) सम्मानित भइसकेका छन् भने नवीन विभास, कुवेर राई, श्रवण मुकारुङ, मोमिला जोशी, उपेन्द्र सुब्बा, राजकुमार दिक्पाल, भूपाल राई र बीबी अनुरागी पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्