अमर गिरीको समालोचनाकृति


 


काठमाडौँ, मंसिर २३

अमर गिरी अब्बल कविका साथसाथै कुशल समालोचक पनि हुन् । यसअघि ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविताकृति तथा साहित्य, संस्कृति र चिन्तनसम्बन्धी ‘समय, समाज र संस्कृति’ नामक पुस्तक प्रकाशित गरिसकेका गिरीको पछिल्लो कृतिका रुपमा ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ बजारमा आएको छ ।

साझा प्रकाशनद्वारा प्रकाशित गिरीको उक्त समालोचनाकृतिमा ‘कविताको शक्ति र नेपाली कविता’, ‘समकालीन नेपाली कविता’, ‘नयाँ सन्दर्भमा साहित्य’, ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’, समकालीन नेपाली कवितामा राष्ट्रिय स्वाधीनता’, ‘समसामयिक कवितामा अभिव्यञ्जित लोकतान्त्रिक स्वर’, ‘समकालीन प्रगतिवादी नेपाली कविताको अन्तर्वस्तुमा वर्गद्वन्द्व’, ‘केवलपुरे किसानका कवितामा नारी–चेतना’, ‘जनभाषाका कवि केवलपुरे किसान’ र ‘आस्था र आदर्शका प्रतीक पुरुष युद्धप्रसाद मिश्र’ गरी दश समालोचनाहरू समाविष्ट गरिएका छन् ।

कविको रुपमा सिर्जनात्मक उचाइ हासिल गरेका गिरी सांस्कृतिक चिन्तक पनि हुन् । साहित्यमा कविताको शक्ति र सामथ्र्य एवम् लोकप्रियताका विषयमा गहिरो विचार प्रस्तुत गरिएको उक्त समालोचनाकृतिमा समकालीन कविताले अँगालेका सांस्कृतिक चेतना, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक स्वर आदि गहन विषयवस्तुले यसमा प्रविष्टि पाएका छन् । ‘समकालीन’ साहित्यकार होइन, तिनका रचनामा ‘समकालीनता’ हुनुपर्छ भन्ने मान्यता राख्ने गिरीको ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’लाई समालोचना विधाको उल्लेख्य कृति मानिएको छ । १ सय ९२ पृष्ठको पुस्तकको मूल्य २ सय ७० रहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्