अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट, के–के ले पाउँने भए छुट ?


 


काठमाडौँ, पुस ३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन् ।

उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । यसबाट अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा गरिएको छ । उक्त सुबिधा ऐनले तोकेका प्रावधान बमोजिम हुनेगरी डिसेम्बर २०२५ सम्म कायम रहनेछ ।

अमेरिकी काँग्रेस र सिनेटले पास गरेपश्चात राष्ट्रपति ओबामाले २४ फेब्रुअरी २०१५ मा उक्त ऐनमा हस्ताक्षर गर्नुभएको हो । सो ऐनलाई कार्यान्वयनमा ल्याउने प्रकृयाका क्रममा ऐनमा भएको प्रावधान अनुसार अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले उपर्युक्त ६६ वटा वस्तु अमेरिकी बजारमा आयात सम्वेदनशील भए नभएको यकिन गर्न नेपाली सरकारी अधिकारी तथा निजी क्षेत्रका व्यवसायी समेतलाई समावेस गरी गत जुन २०१६ मा वासिङ्गटन डिसिमा सार्वजनिक सुनवाई गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त सुनुवाई, सरकारको निरन्तर पहल र ७ डिसेम्बर २०१६ मा जेनेभास्थित विश्व व्यापार सङ्गठनले पारित गरेको छुटपछि अमेरिकी राष्ट्रपति ओबामाले व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्