यस्तो छ आगामी तीन दिनसम्म देशभरको मौषम


 


काठमाडौँ, १२ माघ
आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा आज न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।

यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । आज अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको ।

आज सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताउनुभयो । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्