दादुरा–रुबेला खोप अभियान आजदेखि, ५७ लाख बालबालिकालाई दिइँदै


 


काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।

जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् ।

यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । कोभिडकालमा भएको एक सर्वेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्