आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला


 


काठमाडौँ, १ वैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला भएका छन् ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पु¥याउनका लागि २४सै घण्टा बजार खुला गरिएको बताउनुभयो । “ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षामा कहीँकतै कमी हुनेछैन । प्रहरी प्रशासनसँगै यस क्षेत्रलाई सुरक्षित बनाउने दायित्व नागरिकको पनि उत्तिकै हो । हामी सबै मिलेर यसलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

गृहमन्त्री लामिछानेले जुनसुकै सहर सुरक्षित भएको महसुस गराउन आम नागरिक निर्धक्क भएर हिँड्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै ठमेल र दरबारमार्गलाई निर्धक्क रूपमा हिँड्ने वातावरण निर्माणमा सरकार लागेको बताउनुभयो । ‘युवा आए देशको परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिन आफू लागिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले उक्त अभियानले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले २४सै घण्टा बजार सञ्चालनमा ल्याउँदा स्थानीयका समस्या तथा सुरक्षा व्यवस्थाका बारेमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालन गर्ने योजना अगाडि रहेकामा अहिले अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उक्त अभियानलाई विस्तारै काठमाडौँका अन्य सहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि लागु हुने गरी २४सै घण्टा सञ्चालनका लागि आचारसंहिता निर्माण गरी लागु गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्न सुरु गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला भएको छ”, प्रजिअ बस्नेतले भन्नुभयो । उहाँका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको छ ।

प्रजिअ बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको जानकारी दिनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायीमात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयवासीलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्ने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मका लागि सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गनुपर्नेलगायत कुरा आचारसंहितामा राखिएका छन् । प्रजिअ बस्नेतले भगवानवहाल क्षेत्रमा स्थानीयवासीको बसोबासको क्षेत्र भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित सङ्केत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताउनुभयो । उहाँका अनुसार पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्