वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ


 



वीरगञ्ज, ३१ वैशाख । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले आज वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा कोठामा मेयर’ कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयको कक्षा कोठामा नै पुगेर विद्यार्थीलाई हौसला तथा उत्प्ररेणा जगाउने खालका कार्यक्रम अघि बढाइने बताउनुभयो । ‘‘यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ’’, उहाँले भन्नुभयो, ‘‘कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडी बढाइनेछ ।’’ नगरप्रमुख सिंहले आफ्ना अग्रजहरुको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गर्नुभएको छ ।

महानगरले यसै शैक्षिक सत्रबाट वीरगञ्जका विद्यालयमा सञ्चालित डिजिटल कक्षाको उपयोगिता र प्रभावकारिताको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयमा नै पुगेर एउटा कक्षा नै लिने कार्यक्रम अघि बढाइने बताउनुभयो । नगरप्रमुख सिंहले विद्यालयको अनुगमन गर्दै विद्यालयमा भएका स्रोतसाधन र शैक्षिक अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो ।

महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।

त्रिजुद्ध माविका प्रधानाध्यापक नवीन मिश्रले नगरप्रमुख आफैँ कक्षामा उपस्थिति भएर विद्यार्थीलाई उत्प्रेरणा दिँदा विद्यार्थीहरुमा झनै हौसला बढ्ने बताउनुभयो । ‘‘नगरप्रमुख आफैँ विद्यालयमा उपस्थित भएर विद्यार्थीसँग अन्तरक्रिया गर्दा यसले पक्कै पनि विद्यार्थीको शैक्षिक र अन्य विकासमा ठूलो मद्दत पुग्ने आशा गरेका छौँ’’, उहाँले भन्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुको हौसला बढाउने खालको कक्षा लिनुभएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्