अष्ट्रेलियामा दुई सञ्चारकर्मीलाई ‘भानुभवानी पत्रकारिता पुरस्कार’


 


क्यानबेरा, ७ जेठ । अष्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बापत दुई सञ्चारकर्मीलाई ‘भानुभवानी पत्रकारिता पुरस्कार, २०८१” बाट पुरस्कृत गरिएको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा हालै आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा उक्त पुरस्कार २०७० सालदेखि प्रदान गरिँदै आएको छ ।

क्यानबेरामा घिमिरे परिवारद्वारा आयोजित कार्यक्रममाझ अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले तिमल्सिना र खड्कालाई सो सम्मान प्रदान गर्नुभएको हो । स्व घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको सम्मानमा अष्ट्रेलियामा सकृय रहँदै आएका सञ्चारकर्मीद्वय तिमल्सिना र खड्कालाई सम्मान गरिएको हो ।

स्व भवानी घिमिरे ‘भानुभवानी’का नामले नेपाली साहित्यको क्षेत्रमा चिनिनुहुन्छ । कार्यक्रममा प्रा डा गार्गी शर्मा, साहित्यकारहरु बसुधा नेपाल पोखरेल, शिवानी भट्टराई घिमिरे, ज्ञानुवाकर पौडेल, त्रिपूरा पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विभिन्न सहित्यकारले आ–आफ्ना रचना वाचन गर्दै स्व घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

साहित्यकार घिमिरेकी छोरी महत्ता चापागाईंले बुवाको नाममा स्थापित पुरस्कार अब हरेक वर्ष अष्ट्रेलियामा नै प्रदान गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्