कवि रिमालको ‘चमेरो : कोरोना कविता’ सार्वजनिक


 



काठमाडौँ, १८ जेठ । कवि श्याम रिमालको कविता सङ्ग्रह “चमेरो : कोरोना कविता” सार्वजनिक भएको छ ।

राष्ट्रिय समाचार समिति राससका नायब महाप्रबन्धकसमेत रहनुभएका रिमालको कृति आज यहाँ साहित्यकार र साहित्यप्रेमीहरुले सामूहिक रुपमा सार्वजनिक गर्नुभएको हो ।

तीन वर्षअघि कोरोना महामारीको समयलाई समेटेर उहाँले दस्तावेजको रुपमा कविता सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो । सङ्ग्रहमा २९ वटा कविता सङ्गृहीत छन् । यस अघि रिमालका एउटा काँढा बिझ्दा (गीत सङ्ग्रह), त्रिशूलीको किनाराबाट, बारपाक र नदी बग्दैन (तीनवटा कविता सङ्ग्रह) कृति प्रकाशित छन् ।

क्रान्तिकारी राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालको १०७औँ जन्मजयन्ती तथा कविता गोष्ठीको अवसरमा उहाँको कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।

कवि दीपेन्द्र अधिकारीले रिमालको कविता सङ्ग्रहमाथि समीक्षा गर्नुभएको थियो । रिमालका कविता कुनै छन्द, विम्ब र प्रतीकमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना हुने भएको उहाँले बताउनुभयो । पढ्दा र बुझ्दा रमाइला कविता भएपनि आगामी कृतिहरु केही काव्यात्मक संरचनामा बाँधिनुपर्ने सुझाव उहाँले दिनुभयो ।

रिमाल समाजका महासचिव रवि रिमालले नेपाली भाषा साहित्य पछिल्लो समय सङ्कटमा पर्न थालेको बताउँदै यस्ता कृतिले साहित्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो चरणको कार्यक्रममा विभिन्न कविले रचना वाचन गर्नुभएको थियो ।

कवि दिव्य गिरी, धर्ती चन्द्र यात्री, इलामे जेठो, कृष्ण बाउसे, तिर्थ भट्टराई, राममणि सिटौला, अमर आकाश, प्रमोद स्नेही, गोपालकुमार मैनाली, लालबहादुर भुजेल, कृष्णमोहन जोशी, टेकेन्द्र थापालगायतले कविता वाचन गर्नुभएको थियो ।

श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाका प्रकाशक एवं संस्थापक सम्पादक प्रवीण जोशी, पत्रिकाका सहयोगी सम्पादक शिव श्रेष्ठ र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका व्यवस्थापक लिलाप्रसाद भट्टराईले रिमालको कृतिको प्रशंसा गर्नुभएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्