मामा नै दलाल भएपछि…


 


काठमाडौं, असार ५

सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मंगले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै जेठ २४ गते माइती नेपालमा निवेदन दिए ।

घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु  कान्छीमाया तामाङ,आरती तामाङ,मायाँ तामाङ,सुष्मा तामाङ,सुनिता तामाङलगायत आठ जनालाई काठमाडौं पठाएका थिए ।

तर, काठमाडौं आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिए । प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी,माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

हेटौंडा बसपार्कमा केही शंकास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरु भेटिएका हुन् । युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको छ । तर, दलाल अशोक भने फरार भएको छन् ।

विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यसक्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।

युवतीका अनुसार उनीहरुलाई काठमाडौंबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पुर्याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५/२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो ।

उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।

काठमाडौं दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शंका नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो समयम दक्षिणकाली हेटौंडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरिएको छ ।

पीडित आरती तामाङले भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको सुनाइन् । उनले भनिन्, ‘मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो ।’

किशोरीहरुको राहदानी दलाल अशोक तामाङले नै बनाइ दिएका थिए । उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक खड्काले काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताए । कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशंका माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन ।  रासस

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्